झापा, २९ कार्तिक ।झापा बिर्तामोड नगरपालिका–५ स्थित देबी माध्यमिक विद्यालयमा ‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको नयाँ भवनको शनिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य रतन राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भवनको शिलान्यास गर्नु भएको छ ।
कार्यक्रममा पूर्व महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सञ्चालन हुने ‘बिग स्कूल प्रोजेक्ट’ अन्तर्गत देबी माध्यमिक विद्यालयमा ६ करोड रुपैयाँको लागतमा भवन निर्माण कार्य अघि बढाइने विद्यालयले बताएकोे छ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले जेनजी आन्दोलनमा युवा पुस्तालाई दुरुपयोग गरिएको आरोप लगाउनु भयो। उहाँले असंवैधानिक रूपमा सरकार गठन भएको दाबी गर्दै नयाँ सरकारले प्रारम्भमै राम्रो काम र दीर्घदृष्टियुक्त योजनाहरू खारेज गर्न सुरु गरिसकेको आरोप लगाउनु भयो । त्यसअन्तर्गत बजेट कटौती, भवन उद्घाटन तथा शिलान्यास नगर्ने नीति अवलम्बन गरेर सरकारले गलत मनसाय देखाएको उहाँको आरोप छ ।









