रंगेली,२ मंसिर । मोरङको रंगेलीदेखि गान्धी आश्रम हुँदै पथरी जोड्ने महत्त्वपूर्ण सडकको निर्माण कार्यले हाल तीव्र गति लिएको छ । ढिलासुस्तीका कारण विगत ६ वर्षदेखि सुस्त गतिमा चलिरहेको यो सडकको कामले अहिले गति लिएपछि स्थानीयवासीले धुलो र हिलोबाट भोग्दै आएको समस्या केही हदसम्म समाधान हुने अपेक्षा छ।
सडक निर्माण कार्य २०७६ कार्तिकमा सुरु भए पनि नेपाल सरकारको ढिलासुस्ती र ठेकेदारको लापरबाहीका कारण लामो समयसम्म काम अगाडि बढ्न सकेकेन। सरकारले काम नगर्ने ठेकेदारहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि ठेकेदार कम्पनीले पुनः आफ्नो कामलाई धमाधम अगाडि बढाएको छ ।
सडक निर्माणका लागि नेपाल सरकारसँग १ अर्ब ३९ करोड ५८ लाख ५१ हजार ५ सय ८७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म काम गरेबापत उक्त कम्पनीले ४४ करोड ९८ लाख ६७ हजार ३ सय ९८ रुपैयाँ भुक्तानी लिएको कान्छाराम कन्स्ट्रक्सनका क्यान्टक म्यानेजर विनेश कुमार यादवले बताउनु भयो ।
ठेक्का पाएको कान्छाराम कन्स्ट्रक्सनले २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने जिम्मेवारी लिएको छ। कम्पनीले हालसम्म नालाको काम सम्पन्न गरे पनि अन्य काम बाँकी रहेको बताएको छ ।
हुलाकी सडक निर्देशनालयले अहिले पनि कामको मूल्यांकन गरेर रकम निकासा गर्न ढिलाइ गरेको हुनाले आफूहरूलाई काम गर्न समस्या परेको यादवले जानकारी दिनु भयो । मंसिर १० गतेदेखि रंगेली क्षेत्रबाट समेत काम सुरु गर्ने र २०८३ असारसम्ममा २५ किलोमिटर सडकको कालोपत्रे सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो ।









