काठमाडौँ,३ मंसिर । नेकपा माओवादी केन्द्र भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समिति बुधबार प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको स्रोतले जनाएको छ ।
भ्रष्टाचार, विभेद र असमानताको रूपमा रहेको नेपाली समाजको प्रमुख शत्रुमाथि विजय हासिल गर्न र नयाँ परिस्थितिमा नयाँ नेतृत्वको विकास गर्नका लागि भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समिति प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको अभियानका नेता सुदन किराँतीले जानकारी दिनु भयो ।
केही दिन अघि नेकपा माओवादी केन्द्रसहित कम्युनिष्ट दलहरूबिच एकता गरिएको थियो सोको विरोध गर्दै तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका हुन् । भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समितिले समेत एकताप्रति असहमति जनाउँदै प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएका छन् ।









