दमक, १७ मंसिर | दमक नगरपालिका वार्ड नम्बर ३ स्थित बेलडाँगी शिविरमा भएको खुकुरी प्रहार प्रकरणमा एक जना घाइते भएका छन्।
सामान्य भनाभनबाट सुरु भएको विवाद एक्कासी हिंसात्मक रूप लिएपछि २९ वर्षीय प्रदीप विश्वकर्मा घाइते बनेका हुन्।
प्रहरीका अनुसार घटना गएराती करिब ८ बजेतिर भएको हो। बेलडाँगी शिविर सेक्टर A3 हट नं. २०० मा बस्ने विश्वकर्मालाई सोही शिविरका ४८ वर्षीय मंगलसिंह राईले खुकुरी प्रहार गरेका थिए।
राईले विश्वकर्मालाई घाटीको बायाँ भागमा खुकुरी प्रहार गरेपछि स्थानीयले तत्काल उद्धार गरी दमक अस्पताल पुर्याए। अस्पतालले उनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने स्थितिमा रहेको जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले मंगलसिंह राईलाई अपराधमा प्रयोग भएको खुकुरी सहित नियन्त्रणमा लिएर कार्यालयमा लगिएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा सामान्य विवादकै कारण घटना भएको पुष्टि गरेको छ। राई विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरीले जनाएको छ।









