मेचीनगर, २० मंसिर । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले वरिष्ठ पत्रकार नकुल काजीसहित तीन उत्कृष्ट प्रतिभालाई सम्मान गरेको छ ।
मेचीनगर–११ धाइजनस्थित जालपा सभाहलमा शनिबार भएको प्रतिष्ठानको ७ औं बार्षिक उत्सवमा वरिष्ठ पत्रकार नकुल काजीलाई उत्कृष्ट प्रतिभा पुरस्कार, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार उज्यालो भविष्य जैविक कृषक समूहलाई र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजबंशीलाई प्रदान गरियो । उहाँहरुलाई जनही ३१ हजार राशीसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको छ ।
यसैगरी प्रतिष्ठानले मेचीनगर–११ निवासी एकजोडी ज्येष्ठ दम्पतीलाई पनि सम्मान गरिएको छ । जसमा ९० वर्षीय हेमलाल खतिवडा र ८१ वर्षीया तुलसा खतिवडालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।
सबै पुरस्कृत प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य एवम् समाजसेवी गोपालकुमार वस्नेत, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ लगायतले सम्मान प्रदान गर्नुभएको थियो ।
मेचीनगरका समाजसेवी हरिचरण बानियाँले आफ्ना मातापिताको स्मृतिमा २०७६ सालमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गर्नुभएको हो । प्रतिष्ठानले हरेक वर्ष मंसिर २० गते विशेष कार्यक्रम आयोजना गरी समाजका विभिन्न क्षेत्रमा विशिष्ठ योगदान दिने व्यक्तित्वलाई नगदसहित सम्मान प्रदान गर्दै आएको छ ।










