दमक, २४ मंसिर । अनाथ बाल वृद्ध आश्रममा एक नवविवाहित दम्पतीले मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। नवविवाहित दम्पती विकास अधिकारी र अनु आचार्यले आफ्नो वैवाहिक जीवन सुखद र सफल बनोस् भन्ने कामनासहित आश्रममा आश्रय लिएर बसिरहेका बालबालिकाका लागि बिहानको भोजनको सम्पूर्ण व्यवस्थापन गरेका हुन्। आश्रममा हाल ४० जनाभन्दा बढी बालबालिकाले आश्रय लिइरहेका छन्। बिहानैदेखि बालबालिकाका लागि खाना तयारी गरिएको थियो भने उनीहरूले आत्मीयताको माहोलमा भोजन ग्रहण गरेका थिए। सहयोग पाएपछि बालबालिकाको अनुहारमा खुशी झल्किन्थ्यो।
दमक ३ निवासी नवविवाहित दम्पती अधिकारी र आचार्यले विवाहलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवासँग जोड्न पाउँदा आफूहरूलाई खुशी लागेको प्रतिक्रिया दिएका छन्। यस्ता सामाजिक कार्यबाट समाजमा सकारात्मक सन्देश जाने श्रीमती अनु आचार्यले जानकारी दिनुभयो ।









