झापा, १४ पुष । पार्टी सभापति रवि लामिछाने र काठमाण्डौका मेयर बालेन शाहबीच संझौता भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा चुनावी अभियान शुरु गरेको छ ।
निर्धारित मिति फागुन २१ का लागि आफूहरुले चुनावी अभियान शुरु गरिसकेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताउनु भयो ।
चुनावी अभियानका लागि निवर्तमान सांसद सोविता गौतम यही पुष २३ , २४ र २५ गतेका लागि झापा आउँदै हुनुन्छ । उहाँलाई रास्वपाले झापाको चुनावी कमाण्डर बनाएको छ । त्यसपछि मनिश झा र असिम शाह आउने कार्यक्रम रहेको कार्यबाहक सभापति पाठकले जानकारी दिनु भयो ।
निर्वाचनको पूर्वसन्ध्यामा रवि लामिछाने र बालेन शाह झापा आउने कार्यक्रम रहेको छ । विगतको निर्वाचनमा जस्तै यसपटक पनि झापाको पाँचवटै निर्वाचन क्षेत्रमा चुनावी सभा आयोजना गरिने स्रोतले जनाएको छ । रास्वपाले देशका १६५ वटै निर्वाचन क्षेत्रमा रवि र बालेनको उपस्थितिमा चुनावी सभा गर्ने योजना बनाएको जनाएको छ ।









