दमक, ९ माघ । बिरामी हुँदा उपचार गराउने ठाँउ भनेको अस्पताल हो। र जब अस्पतालमा सेवा सहज र समयमै पाउनुहुन्छ भने त्यो जीवन बचाउने अवसर जस्तै हुन्छ।
दमक मात्र होइन, कोशी प्रदेशका १४ जिल्लाबाट उपचारको लागि बिरामीहरू आउने पहिलो केन्द्र मध्येको एक हो दमक अस्पताल। धेरैका लागि यही पहिलो रोजाइ हो जब स्वास्थ्य समस्या घेर्दैछ।
यस सरकारी अस्पतालको अवस्था अहिले जे जस्तो देखिन्छ, त्यतिमात्रै होइन यसको इतिहास पनि संघर्षले भरिएको छ। सुरुमा यसलाई इलाका स्वास्थ्य चौकीबाट विस्तार गर्दै अहिले सम्म ल्याइयो सुरुमा झन्डै १५ शैयाको सानो संस्थाको रूपमा सेवा दिँदै आएकाले धेरै चुनौतीहरू थिए। तर विस्तारसँगै सेवा दायरा बिस्तारै बढ्दै गएको छ।
पहिले, जब बिरामी आउँथे बिशेषगरी ओपिडी सेवा र केही सीमित उपचारको लागि पुराना संरचना, असम्य उपकरण र सेवा प्रणालीको अभावले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो।
कति बेला मानिसहरु रोगीलाई पालो नदिई एकले अर्कोको पालो मिच्ने, झगडा हुने अवस्था समेत देखिन्थ्यो। बिरामीले एक उपचारको लागि दुई तीन दिनसम्म धाउनु पर्ने गरिन्थ्यो । समयमै उपचार सम्भव हुन्थेन। त्यहि कारणले बिरामी र सेवा ग्राहीको लागि ठूलो तनाव हुन्थ्यो।
आज त्यस्तो स्थिति धेरै हदसम्म बदलिएको छ — सेवा प्रणालीमा स्पष्ट सुधार आएको छ। कारण के हो? सबैभन्दा ठूलो परिवर्तन कुपन प्रणाली (टोकन÷टोकन प्रणाली) को आगमन हो जसले बिरामीलाई सेवा लिन सहज बनाएको छ।
अब बिरामी आउँदा पालो व्यवस्थापन हुन्छ, कसैले कसैको पालो मिच्न पाउँदैन र सेवा ग्रही बीच झगडा हुँदैन पहिलेको तुलनामा यो सबैभन्दा ठूलो परिवर्तन हो।
दमक–५ का तिलक न्यौपाने भन्नु हुन्छ, भिड जति धेरै भए पनि अहिले को कुपन प्रणालीले सबैलाई समान अवसर दिएको छ र सेवा लिन धेरै सहज भएको छ।
दमक–९ की पवित्रा क्षेत्री बताउँनु हुन्छ, पहिले लाइन बस्दा ठेला ठेल हुन्थ्यो, झगडा हुन्थ्यो र सेवा लिन कठिनाइ थियो। अहिले कुपन प्रणालीले सबैलाई पालो मिलाएर सेवा दिँदा त्यस समस्याबाट बचिएको छ।
तर अझै चुनौती बाँकी छ। धेरै जेष्ठ नागरिकहरु एक्लै आउँदा कुपन काट्ने ठाउँ कता हो भन्ने थाहा नपाउदा समस्या हुन्छ । त्यसमाथि अस्पतालका कर्मचारीहरूले सहयोग गर्दै आएका कारण सेवा लिन सहज भएको तिलक बहादुर खड्काको अनुभव छ।
स्थानीयहरूले भन्छन्, स्वास्थ्य सेवा भनेको विकासको प्रारम्भ हो ।सडक, पिउने पानी, बिजुलीको बाबजुद पनि बिरामी भएपछि छिटो उपचार पाउनु नै पहिलो प्राथमिकता हो। यसै बिचारका साथ सरकारले दमक अस्पतालमा आधुनिक उपकरण र संरचनाको विकास गरेका कारण सेवा मात्र सहज भएको छैन, विरामीको समय र श्रम पनि बचेको छ। दमक अस्पतालमा १५ शैयाको क्षमता स्थानीय सरकारको मातहतमा रहेको सरकारी अस्पतालले अहिले नाक–कान–घाँटी, हाडजोर्नी, प्रसूति, बाल रोग र अन्य विशेषज्ञ डाक्टर सेवासहित २४ घण्टा आपतकालीन सेवा उपलब्ध गराइरहेको छ। पहिले बिरामीहरुले धेरै समय लाइन बस्नु पथ्र्यो — आज बिरामी आउने सबैले सहज र क्रमबद्ध सेवा पाउँदा स्थानीयको प्रतिक्रिया सकारात्मक छ।
दमकमा मात्र होइन, आसपासका जिल्लाबाट समेत बिरामी आउने यस अस्पतालले स्वास्थ्य पहुँचलाई धेरै हदसम्म प्रभावकारी बनाएको छ। यसरी संघीय र स्थानीय सरकारको पहल, सेवा प्रबन्ध सुधार र टोकन प्रणालीले दमक अस्पताललाई पुरानो अव्यवस्थित अवस्था भन्दा धेरै व्यवस्थित, सहज र बिरामी मैत्री बनाएको छ।









