कोशी प्रदेश लगानी सम्मेलनका ५० आयोजना कार्यान्वयनतर्फ, नीतिगत जटिलता अझै चुनौती

विराटनगर,२ फागुन । २०८२ वैशाख १८ र १९ मा ‘प्रगतिको आधारः जलस्रोत, पर्यटन, कृषि र पूर्वाधार’ भन्ने मूल नाराका साथ विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता जनाइएका ५० आयोजना कार्यान्वयनमा जान लागेको सरकारले बताएको छ ।

प्रदेश लगानी प्राधिकरणले सार्वजनिक गरेको समीक्षा विवरण अनुसार लगानीका प्रतिबद्धता र तिनको कार्यान्वयन अगाडि बढे पनि विभिन्न चुनौती देखिएका छन् । ती ५० आयोजनाका लागि १ खर्ब ५७ अर्ब ९८ करोड रुपैयाँको कुल प्रतिबद्धतालाई नतिजामा बदल्न प्रदेश सरकारले कसरत गरिरहेको प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भयो ।

 

सम्मेलनमा कुल ७१ वटा परियोजना लगानीकर्ताका सामु प्रस्तुत गरिएका थिए । तीमध्ये ५१ वटा परियोजनामा समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । जसमा औद्योगिक उत्पादन ४२.४९ प्रतिशत र पूर्वाधार तथा शहरी विकास ३९.१३ प्रतिशत थियो । यस्तै कृषि क्षेत्रमा १० वटा, पर्यटनमा १२, ऊर्जामा ४, सूचना प्रविधिमा २ र स्वास्थ्यमा १ वटा परियोजनामा समझदारी भएको स्रोतले जनाएको छ ।

 

प्राधिकरणको प्रगति प्रतिवेदनले ५० भन्दा बढी परियोजनालाई विभिन्न श्रेणीमा विभाजन गरेको छ । केही परियोजना निर्माणको अन्तिम चरणमा छन् भने धेरैजसो अझै पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन र परियोजना विकास सम्झौता (पीडीए) को मस्यौदा निर्माणको चरणमा अड्किएको छ।

 

सुनसरीको बराहक्षेत्रमा २० करोडको लागतमा निर्माण भइरहेको प्राङ्गारिक मल कारखानाले हाल परीक्षण उत्पादन सुरु गरेको जनाएको छ । त्यस्तै, उर्लाबारीको परियोजना पनि सञ्चालनको तयारीमा रहेको छ । यी परियोजनालाई सम्मेलनका सफल उदाहरणका रूपमा सरकारले लिएको छ ।

 

दुई अर्ब ४८ करोड लागतको आर.आर. इन्टरनेशनल अस्पताल विराटनगर निर्माणको अन्तिम चरणमा पुगेको छ । यस्तै संखुवासभामा रहेको ६.९ मेगावाटको पाँचखपन जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भई निर्माण कार्य अघि बढेको छ ।
३४ करोडको दुहबी मल्टिचेम्बर कोल्ड स्टोरेज आयोजना रणनीतिक रूपमा महत्त्वपूर्ण भए पनि अझैसम्म पीडीएको मस्यौदा निर्माण र समिति गठनकै चरणमा छ ।

 

रासताल र बर्जुताल पर्यटकीय परियोजना दुवै ठुला पर्यटकीय आयोजना (क्रमशः ९८ करोड र ४२८ करोड) हुन् । तर, ती आयोजना निर्माणको लागि अझै पनि पीपीआर मूल्याङ्कन र सम्भाव्यता अध्ययनकै वरिपरि घुमिरहेका छन् ।

लगानी सम्मेलनले कोशी प्रदेशमा रहेका नीतिगत र कानुनी जटिलताहरूलाई पनि बाहिर ल्याएको छ । केही यस्ता परियोजना छन्, जुन लगानीकर्ता इच्छुक हुँदाहुँदै पनि सरकारी नीतिका कारण अघि बढ्न सकेका छैनन् ।

धनकुटामा ४० करोडको लगानीमा स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने लक्ष्य राखिएको कोदोको रक्सी परियोजना अहिले ‘मदिरा ऐन’ र ‘अन्तःशुल्क ऐन’ को चेपुवामा परेको छ । लगानी प्राधिकरणले स्पष्ट भनेको छ, ‘नीतिगत निर्णयको आवश्यकता देखिएको छ ।’

झापाको विर्तामोडमा प्रस्तावित ६० करोडको ‘बिग हाउजिङ’ परियोजना बैंकिङ तथा वित्तीय क्षेत्रको कसिलो नीतिका कारण यथास्थितिमा रहेको छ । यसले लगानी सम्मेलनको सफलतालाई राष्ट्रिय आर्थिक नीतिले कसरी प्रभाव पार्छ भन्ने देखाउँछ । धेरैजसो आयोजनाका जग्गाको भोगाधिकार र स्वामित्वको विषय अझै टुङ्गिएको छैन । सरकारी जग्गा निजी क्षेत्रलाई प्रयोग गर्न दिने प्रक्रियागत ढिलाइ लगानीकर्ताका लागि निरुत्साहनको विषय बनेको छ । यस्ता आयोजनामा काँकरभिट्टा बसपार्क, कोशी रिफ्रेसमेन्ट सेन्टर लगायत रहेका छन् ।
सम्मेलनमा केही निकै महत्त्वाकाङ्क्षी आयोजना पनि प्रस्तुत गरिएका थिए । ५०० करोडको ‘कोशी पोडवे (रानी–भेडेटार)’ र १५ अर्बको ‘बराहक्षेत्र केबलकार’ यसका उदाहरण हुन् । पोडवेका लागि सरकारले ‘राइट अफ वे’को सहमति दिएको छ र लगानीकर्ता पनि परिवर्तन भएका छन् । तर, यस्ता ठुला पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने पुँजी र प्राविधिक दक्षताको व्यवस्थापन कसरी हुन्छ भन्ने स्पष्ट चित्र अझै आइसकेको छैन ।

त्यस्तै, उदयपुर र सुनसरीमा प्रस्तावित २६ अर्बको ‘ग्रीन हाइड्रोजन’ परियोजना अझै सर्भेको प्रारम्भिक चरणमा रहेको छ ।

झापामा बायो फर्टिलाइजर (६० करोड), छुर्पी प्रशोधन (२८ करोड) र मोरङमा हर्बल प्रशोधन (११६ करोड) जस्ता आयोजनाले स्थानीय कच्चा पदार्थको प्रयोग र रोजगारीमा आशा जगाएका छन्, तर यी आयोजनाका लागि आवश्यक पर्ने ‘बिजनेस प्लान’ तयारीमा प्राधिकरणले अझै सहजीकरण गर्नुपर्ने देखिन्छ ।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदनले प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको त देखाउँछ, तर सीमित अधिकार र स्रोतका कारण धेरै विषय संघीय सरकारको निर्णयमा निर्भर छन् ।

प्राधिकरणले ३१औँ बैठकसम्म आइपुग्दा पीडीए मस्यौदा समिति बनाउने, डीपीआर पुनरवलोकन गर्ने र लगानीकर्तासँग निरन्तर संवाद गर्ने काम त गरेको छ, तर ‘वान स्टप सर्भिस’को प्रभावकारिता अझै देखिन बाँकी छ । लगानीकर्ताले एउटै कामका लागि धेरै मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य नभएसम्म यस्ता समझदारीहरू भौतिक संरचनामा परिणत हुन गाह्रो देखिन्छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनमा आएका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानका लागि हरेक तीन महिनामा छलफल गर्ने रणनीति लिएको बताउनु भयो । लगानीकर्तासँग व्यक्तिगत र सामूहिक छलफल भए पनि कानुनी उल्झन समाधान गर्ने प्रयत्न गरिएको उहाँको भनाइ छ ।

प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले पाँच वटा परियोजना भने पीडीएमा गइसकेको जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।