काठमाडौं,१० चैत । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले नेपालजस्तो विकासोन्मुख देशका लागि केवल औपचारिकता मात्र नभई गम्भीर चेतावनी पनि बोकेको छ ।
क्षयरोग (टीबी) अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा विद्यमान छ । जसले हजारौँ नेपालीको जीवन प्रभावित बनाइरहेको छ ।
यसै सन्दर्भमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव कपिलप्रसाद तिमल्सेनासँग कुराकानीको सुरुवातमै क्षयरोगको वर्तमान अवस्थाबारे स्पष्ट पार्दै नेपालमा क्षयरोगका बिरामी घट्नुको साटो बढिरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘नेपालमा क्षयरोग दिन प्रतिदिन बढेकै छन् । यो एक प्रकारको भयावह सरुवा रोग हो । परिवारमा एक जनालाई लाग्यो भने अरुलाई पनि सर्नसक्ने सम्भावना हुन्छ । किनभने यो सरुवा रोग हो । त्यसकारणले यसको संख्या दिन प्रतिदिन बढ्दो छ भन्ने अनुमान गर्न सहजै सकिन्छ । तर यसलाई नबढाउने तरिकाले घटाउन कसरी सकिन्छ, निवारण कसरी गर्न सकिन्छ ? भन्ने सन्दर्भमा सरकारका प्रयासहरु जारी छन् । तर सरकारले एक्लैले अलि गर्न अलिकति कठिन हुँदो रहेछ ।’ उहाँका अनुसार, रोगको प्रकृति नै यस्तो छ कि समयमै नियन्त्रण नगरे यसको विस्तार रोक्न कठिन हुन्छ ।
वार्षिक १६ हजार मृत्यु : भयावह यथार्थ
तिमल्सेनाले राष्ट्रिय प्रिभ्यालेन्स सर्वे अनुसार नेपालमा हरेक वर्ष करिब १६ हजार मानिस क्षयरोगका कारण ज्यान गुमाइरहेका छन् ।
उहाँका अनुसार यो संख्या आधिकारिक तथ्यांक मात्र हो, वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान छ । विशेषगरी घना बस्ती र उच्च जनसंख्या भएका क्षेत्रमा संक्रमणको दर अझ तीव्र हुने भएकाले जोखिम बढेको छ ।
‘प्रिभ्यालेन्स सर्भेको आधारमा हामीले निकालेको एउटा रिपोर्ट अनुसार १६ हजार बिरामीहरु वार्षिक रुपमा मर्छन् । १६,००० भनेको निकै ठूलो संख्या हो । १६ हजार त भनेको छौं तर यो भन्दा अझ अझ बढी पनि हुन सक्छ । राष्ट्रिय आंकडामा आएको फिगर यो हो । तर यो भन्दा बढी पनि हुन सक्छ । किनभने भौगोलिक बनोट नै त्यस्तो खालको छ ।’
त्यस्तै उहाँले क्षयरोग नियन्त्रणको सबैभन्दा ठूलो चुनौती बिरामी पहिचानमै रहेकोे स्वीकार गर्नु भयो। ‘हामीले प्रत्येक वर्ष करिब ६७ हजार बिरामी पहिचान गर्नुपर्ने हुन्छ, तर अहिले करिब ४० हजार मात्रै पत्ता लगाउन सकेका छौ,’ उहाँले भन्नु भयो । यसरी करिब २७ हजार बिरामी अझै पहिचानबाहिर रहेको अवस्था छ, जसले रोग फैलिने जोखिमलाई थप बढाएको छ ।
सामाजिक लाञ्छना
क्षयरोग नियन्त्रणमा अर्को गम्भीर समस्या सामाजिक लाञ्छना रहेको बताउँनु भयो। ‘नेपालमा अझै पनि क्षयरोगलाई लुकाउने प्रवृत्ति छ । मानिसहरू ‘मलाई टीबी भयो’ भन्न डराउँछन् । ‘क्षयरोग पहिचान शिविर’ भन्यौं भने मानिसहरू आउँदैनन् । तर ‘छातीको एक्स–रे’ भन्यौं भने मात्रै सहभागी हुन्छन्,’उहाँले भन्नु भयो ।
स्रोत अभाव : मुख्य चुनौती
क्षयरोग नियन्त्रणका लागि आवश्यक स्रोतको अभाव पनि प्रमुख समस्या बनेको छ । तिमल्सेनाका अनुसार पाँच वर्षे रणनीतिमा आवश्यक बजेटको झन्डै ४३ प्रतिशत अभाव छ । उपलब्ध स्रोतले मात्रै लक्ष्य हासिल गर्न निकै कठिन छ ।
उहाँले भन्नु भयो,‘नेपालमा अहिले आर्थिक अभाव छ । टिभी निवारणका लागि वर्षेनी बजेटको मात्रा घटिरहेको अवस्था छ । अर्को आर्थिक वर्षको लागि फेरि बजेटको सिलिङ जुन छ त्यो पनि घटेर आइसकेको अवस्था छ । प्रत्येक वर्ष आर्थिक रुपमा सिलिङहरु घट्दै जाने, बजेटहरु घट्दै जाने हो भने गाउँघरमा गएर क्लिनिक संचालन गर्दै टिभी पहिचान गर्ने, खोज्ने, पहिचान गर्ने र त्यसको निदान गर्नलाई स्रोतकै आवश्यक पर्छ । स्रोत न्यून भएकाले लक्ष्य प्राप्ती गर्नलाई त्यति सहज देख्दिन, तथापि हाम्रा प्रयासहरु जारी छन् ।’
नेपालले ग्लोबल फण्ड जस्ता अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग लिइरहेको छ । तर तिमल्सेनाका अनुसार, त्यो सहयोग मात्र पर्याप्त हुँदैन। अझै थप स्रोतको आवश्यकता छ, नत्र लक्ष्य प्राप्ती कठिन हुन्छ ।
प्रविधि प्रयोगमा सुधार, तर पहुँच सीमित
हाल नेपालमा जीन एक्सपर्ट, ट्रु–न्याट, एआई पोर्टेबल एक्स–रे जस्ता आधुनिक प्रविधि प्रयोग भइरहेको छ ।
यी प्रविधिले छिटो पहिचानमा मद्दत गर्छन् तर उनको अनुसार पर्याप्त संख्यामा उपकरण नहुँदा देशभर प्रभावकारी रूपमा विस्तार गर्न सकिएको छैन ।
उहाँका अनुसार नयाँ प्रविधि विस्तार गर्न सकेमा बिरामी छिटो पत्ता लगाउने र उपचार सुरु गर्ने प्रक्रिया अझ प्रभावकारी हुनेछ । सरकारले क्षयरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । धेरै बिरामी केही महिना औषधि खाएपछि आफूलाई निको भएको ठान्छन् र औषधि छाड्छन् । यसले रोग पुनः सक्रिय हुने र झन् जटिल बन्ने जोखिम बढाउने उहाँको भनाई छ ।
कार्यान्वयनमा कमजोरी
नेपालमा नीति र योजना राम्रो भए पनि कार्यान्वयनमा कमजोरी रहेको तिमिल्सिनाले स्वीकार्नु भयो । टेबलमा बसेर योजना बनाउनु र फिल्डमा कार्यान्वयन गर्नु फरक कुरा भएको उनको तर्क छ । भौगोलिक कठिनाइ, जनचेतनाको अभाव र सामाजिक व्यवहारले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिन बनाएको उहाँको ठम्याई छ ।
तीन तहको सरकारको भूमिका
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएपनि स्रोत अभावले काम प्रभावित भएको उहाँले बताउनु भयो । स्थानीय तहको भूमिका महत्त्वपूर्ण भएपनि पर्याप्त स्रोत नहुँदा प्रभावकारी रूपमा काम गर्न नसकिएको अवस्था रहेको उहाँले सुनाउनु भयो ।
तिमल्सेनाले क्षयरोग दिवसको सन्देश दिँदै भन्नु भयो,‘क्षयरोग लुकाउने रोग होइन, उपचार गरेर निको पार्ने रोग हो । समयमै पहिचान र पूर्ण औषधि सेवन अत्यावश्यक छ । सरकार एक्लैले यो समस्या समाधान गर्न सक्दैन । नागरिक समाज, निजी क्षेत्र, मिडिया र सर्वसाधारण सबैको सहकार्य आवश्यक छ ।’
विश्व क्षयरोग दिवसले केवल समस्या उजागर गर्ने होइन, समाधानका लागि सामूहिक प्रयास आवश्यक भएको सन्देश दिन्छ । यदि सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्न सके भने मात्र नेपालले क्षयरोगमुक्त भविष्यतर्फ यात्रा गर्न सक्छ ।









