"गाईको किरिया"

योगी निरञ्जननाथ गाईको किरियामा

चितवन/ आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ ।

भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ गाईको किरिया बस्नुभएको छ । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेपछि उहाँ किरिया बस्नुभएको हो ।

योगी नरहरिनाथले कोटीहोम गर्नुभएको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उहाँका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गौ संरक्षण केन्द्रमा हाल करिब १५० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको छ । विभिन्न कारणले गाई मर्न थालेपछि मृत गाईहरुको आत्मा शान्तिको लागि पनि मान्छेको जस्तै काजकिरिया गर्न थालिएको वागीश्वरी आध्यात्मिक परिसद् योगी नरहरिनाथ आश्रमका महासचिव भोजराज भट्टराईले बताउनुभयो ।

गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र गाई बूढो भएर दूध दिन छाडेपछि छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिदै आएको छ । आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको छ । हालसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको छ । गाई संरक्षणका लागि भन्दै राज्यको तर्फबाट एक रुपैयाँ पनि सहयोग नआएको गौ संरक्षण केन्द्रका संयोजक बताउनुहुन्छ ।

योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीनरूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको छ । स्थानीय जातको गाईको दूध, गहुँत, गोबरमा औषधीय गुण हुने भएकाले समेत यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने धार्मिक व्यक्तिहरु बताउँछन् ।

Share: