काठमाडौं,१२ जेठ । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भयो ।
भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नु भयो । उहाँले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताउनु भयो।
सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबिच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नु भयो ।
उहाँले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गर्नुभयो ।
राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताउनु भयो । उहााका अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाएका छन् भने ५० हजार नेपाली हाल त्यहाँ कार्यरत छन् ।









