झापा/ झापाका विभिन्न नाकाबाट तस्करी हुँदै आइरहेको छ । जिल्ला तथा इलाका सुरक्षाकर्मीलाई खुसी पारेर दैनिक लाखौँ रुपैयाँ मूल्य बराबरको अवैध तरिकाबाट सामान आयात–निर्यात हुँदै आइरहेको छ ।
चोरी–पैठारी नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने र सीमा क्षेत्रमा हुने अन्य आपराधिक क्रियाकलाप निस्तेज पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगैै सङ्गठनका सादा पोसाकमा प्रहरी परिचालन गरे पनि नियन्त्रण हुन सकेको छैन । नेपाल–भारतबीच रहेका खुला नाकाका कारण झापाको केचना हुँदै जलथल, ज्ञाने चोक झोलुङ्गे पुल, डाँगीबारी–४ स्थित धरधरिया बाँसझ्याङ, भक्सरभिट्टा, भद्रपुरको मेची पुल, नरसिंह चिया बगान, ज्यामिरगढीको बाटोबाट सामान नेपाल आउने गरेको छ ।
त्यसैगरी भद्रपुरबाट नेपाल लिभरका सामान, चुरोट, हजमोला भारत पठाउँदै आइरहेका छन् । तस्करीमा संलग्न भद्रपुर, डाँगीबारीका कारोबारीले स्थानीय सुरक्षाकर्मीले खटाएका सादा पोसाकका कर्मचारीमार्फत् लाइन मिलाएको एक कारोबारीले दाबी गरे । उता काँकडभिट्टाको मेची भन्सारदेखि केही दक्षिणमा रहेको चिया बगानबाट सुपारी, मरिच र छोगडा भारत पठाउने गरेको पाइएको छ भने सोही क्षेत्रको तिरिङ, नकलबन्दा नाकासमेत प्रयोग हुँदै आएको छ ।