संविधानको प्रभावकारी कार्यान्वयन र सुशासन नै आजको मुख्य कार्यभार

काठमाडौं,१५ जेठ । नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । लामो राजनीतिक संघर्ष, जनआन्दोलन र सशस्त्र द्वन्द्वको पश्चात नेपालमा २४० वर्षभन्दा लामो शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै वि.सं. २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। सोही सन्दर्भमा २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा होमिएका एक योद्धा हाल नेपाली कांग्रेसका नेता एवं सामाजिक अभियन्ता महेश नेपाली ले कुराकानीका क्रममा २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन नेपालमा राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणको मुख्य प्रस्थानविन्दु भएको बताउनु भएको छ।

 

तत्कालीन समयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भई विद्यार्थी राजनीतिको मोर्चाबाट आन्दोलनको नेतृत्व गर्नु भएका नेता नेपालीले सो समयका संघर्षपूर्ण क्षणहरूलाई स्मरण गर्दै प्रजातन्त्रको रक्षाका लागि विद्यार्थीहरूले खेलेको भूमिका अतुलनीय रहेको बताउनु भएको छ। उहाँका अनुसार २०६२÷६३ को जनआन्दोलन एक्कासी भएको घटना नभई यो २०५९ सालमा राजा ज्ञानेन्द्रले चालेको कदम र त्यसपछिको निरन्तर दमनको परिणाम थियो । ‘प्रजातान्त्रिक व्यवस्थामा बोल्न पाउने र संगठन गर्न पाउने अधिकार आधारभूत कुरा हुन्, तर दरबार हत्याकाण्ड पछिको राजनीतिक मोड र राजाको प्रत्यक्ष शासनले ती अधिकारहरू कुण्ठित गरिएका थिए,’ नेपालीले स्मरण गर्नु भयो।

 

आन्दोलनका दिनहरू सम्झँदै उहाँले विद्यार्थीहरूले कसरी भूमिगत र खुल्ला दुवै ढंगले संघर्ष गरेका थिए भन्ने प्रष्ट पार्नु भयो। क्याम्पसभित्र प्रहरीको कडा निगरानी हुने भएकाले उहाँहरूले बाहिरै बसेर योजना बनाउने र अनुहारमा मास्क लगाएर भित्र पसी विद्यार्थीहरूलाई सुसूचित गर्ने गर्नु हुन्थ्यो । ताहचल क्याम्पसलाई केन्द्र बनाएर कालीमाटीसम्म निकालिने मसाल जुलुस र विद्यार्थी परिचालनको नेतृत्व उहाँले गर्नु भएको थियो।

 

‘हामी घर–घर पुगेर विद्यार्थीहरूलाई आन्दोलनका लागि अभिप्रेरित गथ्र्यौं । निरंकुश शासनले कसैको हित गर्दैन भन्ने कुरा उनीहरूलाई बुझाउँथ्यौं,’ नेता नेपालीले भन्नु भयो। आन्दोलनको क्रममा प्रहरीको दमन निकै निर्मम हुने गरेको उहाँ बताउँनु हुन्छ। कालीमाटी र स्वयम्भू क्षेत्रका प्रहरीले विद्यार्थीहरूलाई कलेजभित्र छिर्न समेत दिँदैनथे । आन्दोलनका क्रममा हुने लाठीचार्जमा धेरै विद्यार्थीका टाउका फुटेको र उनीहरूलाई वीर अस्पताल पु¥याएर उपचार गराएको घटना अझै पनि उहाँको मानसपटलमा ताजा छ ।

 

आफ्ना मित्र शिव बोहरामाथि भएको निर्मम प्रहारको स्मरण गर्दै उहाँले भन्नु भयो, ‘हामीले धेरै कुटाइ खायौँ, तर प्रजातन्त्र मर्न दिनु हुँदैन भन्ने भित्री अठोटले हामीलाई निरन्तर अगाडि बढ्न ऊर्जा दियो ।’ नेपालीका अनुसार जनआन्दोलन केवल शासन पद्धति परिवर्तनका लागि मात्र थिएन, यो त राज्यको संरचना भित्रका विकृति र विसंगति विरुद्धको विद्रोह पनि थियो । ‘त्यतिबेलाको सामाजिक र राजनीतिक संरचनामा समानुपातिक वितरण प्रणाली थिएन। सिमान्तकृत समुदायको पहुँच राज्यको मूल प्रवाहमा पुग्न सकेको थिएन,’उहाँले उल्लेख गर्नु भयो। ६२÷६३ को आन्दोलनले नै संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको र यसले गर्दा नै अहिले राज्यका हरेक अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व सम्भव भएको उहाँको ठम्याइ छ ।

 

नेपालीले जनआन्दोलनको बलमा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै सिमान्तकृत र पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित गर्नु नै आजको मुख्य कार्यभार भएको बताउनु भएको छ । उहाँ भन्नु हुन्छ्, ‘जुन आकांक्षाले हामीले त्यो बेला सडकमा रगत बगायौँ, त्यसको पूर्ण कार्यान्वयन अझै पनि आवश्यक छ ।’

संविधान कार्यान्वयनमा नेतृत्व असफल हुँदा जनतामा निराशा
नेता नेपालीले संविधानले नागरिकका अधिकार सुनिश्चित गरेपनि त्यसको प्रभावकारी कार्यान्वयनमा राजनीतिक नेतृत्व असफल हुँदा जनतामा निराशा बढ्दै गएको बताउनु भएको छ । उहाँले २०६२÷६३ को जनआन्दोलनपछि मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिएको स्मरण गर्दै २०७२ सालको संविधानले त्यस संक्रमणको अन्त्य गर्ने अपेक्षा गरिएको बताउनु भयो । तर दलका नेतृत्वले संविधानको अक्षरशः पालना गर्न नसक्दा जनतामा व्यवस्था प्रतिको विश्वास कमजोर बन्दै गएको उहाँको भनाइ छ ।

 

उहाँले अन्तरिम संविधान मार्फत सामन्ती शासन व्यवस्थाको अन्त्य गर्ने प्रयास भए पनि वास्तविक अर्थमा जनताको शासन स्थापित हुन नसकेको बताउनु भयो । ‘लिखित रूपमा धेरै अधिकार स्थापित भए, तर त्यसको कार्यान्वयन गर्ने वैचारिक धरातल तयार भएन,’ उहाँले भन्नु भयो । उहाँका अनुसार सामाजिक संरचना र पुरानै सोचका कारण सीमित व्यक्तिहरूले राज्यसत्ता आफ्नो स्वार्थअनुसार सञ्चालन गर्दा अपेक्षित परिवर्तन हुन सकेन ।

 

व्यवस्था होइन, नेतृत्व दोषी
नेपालीले कुनै पनि राजनीतिक व्यवस्था आफैँमा दोषी नहुने उल्लेख गर्दै व्यवस्थालाई विकृत रूपमा सञ्चालन गर्ने नेतृत्वकै कारण समस्या उत्पन्न भएको धारणा राख्नु भयो। उहाँले गणतन्त्रलाई नेपालको समृद्धिको महत्वपूर्ण आधार भन्दै जनताका छोराछोरीले राज्य सञ्चालन गर्ने अधिकार पाउनु प्रगतिशील उपलब्धि भएको बताउनु भयो।
उहाँले राजनीतिक नेतृत्वमा म भन्ने सोच हावी हुँदा समस्या बढेको टिप्पणी गर्नु भयो । ‘हामी सेवक हौँ भन्ने भावना नेतृत्वमा विकास हुनुपर्छ,’ उहाँले भन्नु भयो, ‘राजनीति कुनै वंश हस्तान्तरणको प्रणाली होइन ।’ उहाँका अनुसार राजनीतिक दलका नेताहरूले समयानुकूल आफूलाई व्यवस्थापन गर्न नसक्दा जनआन्दोलनबाट प्राप्त उपलब्धिहरू कमजोर बनेका छन् । उहाँले जनताको आकांक्षा र परिवर्तनको चाहनालाई आत्मसात् गर्दै नेतृत्वले जवाफदेही बन्नुपर्ने आवश्यकता औँल्याउनु भयो।

 

सुशासनसँगै अन्तर्राष्ट्रिय दृष्टिकोण आवश्यक
नेपालीले वर्तमान सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि थालेका प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनु भयो। भ्रष्टाचारमुक्त समाज निर्माण र सामाजिक प्रणालीमा सुधार ल्याउने अभियानमा सबै पक्षले सहयोग गर्नुपर्ने उहाँको धारणा छ ।

तर उहाँले केवल आन्तरिक प्रणाली सुधार गरेर मात्र देशमा स्थायित्व र सुशासन कायम गर्न नसकिने चेतावनी दिनु भयो। अन्तर्राष्ट्रिय राजनीति, कूटनीतिक क्षमता र विश्व परिवेशको गहिरो मूल्यांकनबिना मुलुक अघि बढ्न नसक्ने उहाँको भनाइ छ ।
‘विश्व मानचित्रबाट हराएका देशहरूको उदाहरण हाम्रा सामु छन्,’ उहाँले भन्नु भयो, ‘त्यसैले सरकारले अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो अध्ययन गरेर दूरदर्शितापूर्ण ढंगले अघि बढ्नुपर्छ ।’ संविधानलाई सबैभन्दा प्रगतिशील दस्तावेजको संज्ञा दिँदै उहाँले आवश्यक परे राष्ट्रियता, प्रजातन्त्र र स्थायित्वका लागि केही सुधार र संशोधन गर्न सकिने धारणा पनि व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सिरहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

सडक मर्मत र पूर्वाधार विकासका लागि अर्बौँ बजेट विनियोजन

काठमाडौं,१५ जेठ । सरकारले महाकाली करिडोर अन्तर्गत दार्चुला–टिङ्कर सडक खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ । शुक्रबार आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा।

सरकारी कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि

काठमाडौं,१५ जेठ । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेट

स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

काठमाडौं,१५ जेठ । सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले