काठमाडौं,१४ साउन । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दा समेत सरकार मौन रहेको आरोप लगाउनु भएको छ ।
‘देशमा आज जताततै हिंसा हुने अवस्था छ । तर सरकार बेखबर छ । सरकार कहाँ छ भनेर सोध्न चाहन्छु । सरकार अव तपाई बाहिर निस्कनुपर्छ,’ उहाँले भन्नु भयो, ‘किनकी दिनदहाडै देशमा गोली चलेको छ । हत्या हिंसा भएको छ । देशमा संकट हुने अवस्था छ । तर सरकार बेखबर छ ।’
उहाँले सरकार जनताको वास्तविक अवस्था बुझ्न बाहिर निस्किनुपर्ने भन्दै देशको अवस्था सामान्य रहेको बताउनु भयो । राष्ट्रियता सम्बन्धी विषयमा अनावश्यक जिद्दी गर्नु उपयुक्त नहुने बताउँदै उहाँले यसको मूल्यांकन नागरिकले भविष्यमा गर्ने बताउनु भएको छ ।
त्यस्तै, उहाँले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सम्मानित रोस्ट्रमबाट दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ तत्काल सच्याउन माग गर्नु भएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन पनि उहाँले सभामुख मार्फत माग गर्नु भएको छ ।









