रौतहट,१४ साउन । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।
साउन १३ गते (बुधबार) राति अन्दाजी ९ बजेको समयमा पौडेल रौतहट निर्वाचन क्षेत्र नं. ४ का जनताका गुनासाहरू सुनिरहनु भएको थियो। सोही क्रममा केही अपरिचित व्यक्तिहरू उक्त स्थानमा आइपुगेका थिए । उनीहरूले ‘मधेस मुक्ति अभियान जिन्दावाद लेखेको पर्चा र मधेस मुक्ति अभियान जिन्दावाद, फिर्ता होऊ नेपाली माननीय मुर्दावाद, नेपाली उपनिवेश अन्त हो, झापा देखि कञ्चनपुर सम्मको मधेस स्वतन्त्र हो’ भनी लेखिएका पर्चाहरू फ्याँकेका थिए । त्यसपछि उनीहरूले प्रतिनिधि सभा सदस्य पौडेलमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा रौतहट गढीमाई नगरपालिका वडा नं. ०३ घर भई ऐ. वडा नं. ७ धनाडी बस्ने वर्ष २० का शेख ईवरान र गढीमाई नगरपालिका वडा नं. ३ गम्हरिया बस्ने वर्ष १९ का ईर्फान अंसारीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुरमा सम्मानित रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनु भयो। साथै, उक्त घटनामा संलग्न भई हाल फरार रहेका अन्य व्यक्तिहरूको समेत तीव्र रूपमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।









