काठमाडौं १९ साउन । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्ला दिनहरूमा देशमा भइरहेका दुखद घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सुनसरीको देवागञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दल, नागरिक समाज, सरकार तथा सम्बन्धित संघ–संस्थाको पहलका कारण अवस्था नियन्त्रणउन्मुख भएको उल्लेख गर्नुभयो।
उहाँले भन्नु भयो , ‘देशमा एकपछि अर्को दुखद घटना घटिरहेको छ । सुनसरीको देवागन्द घटेको घटनापश्चात मधेशभर फैलिएको साम्प्रदायिक घटनालाई जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकार विभिन्न संघसस्थाको सचेत पहलमा नियन्त्रणउन्मुख छ ।’
उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभया।
शर्माले संकटका बेला प्रधानमन्त्रीको सक्रिय उपस्थितिको अपेक्षा जनताले गरेको भए पनि त्यसअनुसारको भूमिका नदेखिएको आरोप लगाउनु भएको छ।
‘सदनले मात्र होइन, आम नेपाली जनता अप्ठ्यारो र दुःख–सुखमा अभिभावकका रूपमा प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजेका छन्। तर प्रधानमन्त्री सामाजिक सञ्जाल र स्टाटसमै सीमित हुनुभएको छ,’ उहाँले भन्न्ुा भयो ।
उहाँले विधिको शासनको कुरा गर्ने सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारमाथि न्यायपालिकालाई प्रभावित पार्ने प्रयास भएको दाबी गर्दै त्यसप्रति गम्भीर ध्यान दिन आग्रह गर्नु भयो।
‘विधिको शासन कुरा गर्ने सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेर हुर्मत लिने काम गरेको छ,’ उहाँले भन्नु भयो ।









