बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७ बस्ने माने कठायतकी श्रीमती अन्दाजी ६२ बर्षिया धरु देवी कठायत मृत फेला पर्नु भएको छ। मृतक कठायत साउन १७ गते घरमा कोही कसैलाई जानकारी नगराई निस्कीनु भएको थियो। त्यसपछि सम्पर्कविहीन हुनु भएको उहाँ साउन १९ गते दिउँसो करिब २ः३० बजे छेडेदह तालमा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिनु भयो ।
उहाँका अनुसार,घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी डोगडीबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द पन्तको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरिक्षक गगन सिंह भाटको कमाण्डमा ७ जना सदस्यीय प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छेडेदह ताल बाजुराको पर्यटकीय क्षेत्र मध्येको एक हो । यहाँ बर्षातको समयमा घुम्ने पर्यटकको घुइँचो लाग्ने गर्छ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड नजिकैको क्षेत्र तथा बझाङ र बाजुरा जिल्लालाई जोड्ने प्रमुख सडकको छेउमै यो ताल अवस्थित छ ।









