काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताउनु भएको छ ।नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्नु भयो । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो ।
‘यो भेला किन आयोजना गर्नुपर्याे भने कांग्रेसलाई एकजुट बनाउनलाई हो । यो मेरो कर्तव्य हो । पार्टी एकजुट भएको खण्डमा कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो,’ उहाँले भन्नु भयो।कोइरालाले निर्वतमान कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो पुरानो सम्बन्ध र राजनीतिक यात्राका केही प्रसंगसमेत सुनाउनु भयो । उहाँले तत्कालीन समयमा देउवा बनारस आउँदा आफूलाई घुमाउने जिम्मेवारी दिइएको स्मरण गर्नु भयो ।उहाँका अनुसार देउवालाई आफूले के गर्न चाहनुहुन्छ भनेर सोध्दा उहाँले सिनेमा हेर्न चाहेको बताउनु भएको थियो । त्यस दिन आफूहरू तीनवटा सिनेमा हेर्न गएको कोइरालाले बताउनु भयो ।
उहाँले देउवा बेलायतमा रहेका बेला आफूले फोन गरेर नेपालमा परिवर्तन भइरहेको भन्दै स्वदेश फर्किन आग्रह गरेको पनि स्मरण गर्नु भयो । त्यसपछि देउवा नेपाल फर्किएको र पछि प्रधानमन्त्री बनेको उहाँले बताउनु भयो ।‘मलाई के लाग्छ भने शेरबहादुर देउवाजीको भाग्य राम्रो छ, आउनेबित्तिकै प्रधानमन्त्री पनि बन्नुभयो,’ कोइरालाले भन्नु भयो।उहाँले राष्ट्रिय भेलामा सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम व्यवस्थापनका क्रममा भएका कमजोरीका लागि क्षमा माग्नु भयो। सबैको सहभागिताले आफू खुसी भएको बताउँदै उहाँले देउवा सहभागी भए भेला पूर्ण रूपमा सफल हुने दाबी गर्नु भयो ।
‘सबै जना आउनुभयो, खुसी लाग्यो। त्रुटिहरू भए क्षमा गरिदिनुहोला । हामीले खाना पनि दिन सकेनौँ, त्यसका लागि माफ गरिदिनुहोला । शेरबहादुर देउवा आउनेबित्तिकै यो पूर्ण सफल हुन्छ,’ उहाँले भन्नु भयो ।









