काठमाडौं,२ भदौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाउनु भएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने र कर्णालीमा औषधि तथा राहतको अभाव हुने अवस्था रहँदा सरकारले सुशासनको कुरा गर्नुको अर्थ नभएको बताउनु भयो।
उहाँले काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी तथा खानपान पचाउन नसकेपछि लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याउने गरिएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाउनु भयो ।
उहाँले भन्नु भयो, ‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौं ल्याइन्छ।’
मन्त्रीलाई काठमाडौं ल्याउन ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सरकारले विपन्न नागरिकका लागि तीन लाख रुपैयाँ खर्च गरेर राहत पु¥याउन नसकेको उहाँको आरोप थियो।
‘मन्त्री काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पु¥याउन सक्दैन,’ उहाँले भन्नु भयो।
बिहान–बेलुकाको छाक टार्नसमेत कठिन भएका नागरिकलाई राज्यले एक सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको भन्दै थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भयो।
त्यस्तै, सरकारले एक्सप्रेसवे निर्माणको कुरा गरिरहँदा कर्णालीका नागरिकले औषधि र राहतसमेत नपाउने अवस्था रहेको भन्दै उहाँले सरकारको वास्तविक सुशासन यही हो भन्दै प्रश्न गर्नुभयो।









