काठमाडौं,२ भदौ । सांसद मनिष खनालले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित राम्चेका ४२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चो पहिरोका कारण स्थानीयवासी लामो समयदेखि जोखिममा रहेको बताउनु भयो । उहाँले ठूलो जनधनको क्षति हुनुअघि नै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न सरकारसँग आग्रह गर्नु भएको छ।
खनालका अनुसार २०७६ भदौ १२ गते राम्चेका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्ने उद्देश्यले एकीकृत नमुना बस्तीको तामझामका साथ उद्घाटन गरिएको थियो। तर उद्घाटन भएको लामो समय बितिसक्दा पनि बस्ती निर्माण तथा स्थानान्तरणको काम अघि बढ्न सकेको छैन ।उहाँले भन्नु भयो, ‘२०७६ सालमा भदौ १२ गते राम्चोबाट अन्यन्त्र सार्ने गरी एकीकृत नमुना बस्तीको तामझामसाथ उद्घाटन भए पनि हालसम्म कुनै कार्य हुन सकेको छैन । २०७८ सालमै गरेको अध्ययनले यो क्षेत्रलाई उच्च जोखिम घोषणा गर्दै यस क्षेत्रमा बसोबास नगर्न सुझाव दिएको थियो । तर हालसम्म पनि हामीले कुनै कार्य गर्न सकेका छैन ।’
२०७८ सालमा गरिएको भौगर्भिक अध्ययनले समेत राम्चे क्षेत्रलाई उच्च जोखिमयुक्त घोषणा गर्दै त्यहाँ बसोबास नगर्न सुझाव दिएको सांसद खनालले बताउनु भयो । जोखिमबारे पटक–पटक अध्ययन र चेतावनी भए पनि हालसम्म प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने ठोस पहल हुन नसकेको उहाँले उल्लेख गर्नु भयो। जिल्ला विपद् व्यवस्थापन समितिले केही दिनअघि गरेको स्थलगत अनुगमनले समेत राम्चेका सबै ४२ घरपरिवार उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको खनालले उल्लेख गर्नु भयो।









