बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना, आशा र आफ्ना मान्छे पनि बगाएर लग्यो । आँखैअगाडि आएको यो विपत्तिले फेरि एकपटक हामीलाई स्तब्ध बनाएको छ ।सम्भवतः २०७२ सालको महाभूकम्पपछि यति ठूलो जनधनको क्षतिको पीडा नेपाली समाजले फेरि एकपटक महसुस गर्नुपरेको छ । विपत्तिको यो घडीमा शब्दहरू कमजोर लाग्छन्, आँसु पनि कम लाग्छन् । तर एउटा प्रश्न भने मनभित्र गहिरोसँग उठ्छ हामी बाँचेका मानिसको जिम्मेवारी के हो ?

 

बाढीले बगाएर ल्याएका शव देख्दा जिउ नै सिरिङ्ग हुने अवस्था छ । तर त्यही त्रासदीको बीचमा कसैको शरीरमा भएको गहना निकाल्ने, बाढीले बगाएर ल्याएका ग्यासका सिलिण्डर लगायत सामान आफ्नो घरमा थुपार्ने मानिसका दृश्य पनि सामाजिक सञ्जालमा देखिए । ती दृश्यले बाढीको पीडाभन्दा ठूलो अर्को पीडा जन्माइदियो । के विपत्तिको भेलसँगै हाम्रो मानवता पनि बग्न थालेको हो ?बाढीले शव र ग्यासका सिलिण्डर सँगसँगै बगाएर ल्यायो । तर विडम्बना यस्तो देखियो ग्यासका सिलिण्डर तान्न हातहरू अघि बढे, तर बाढीले बगाएर ल्याएको मान्छेको शवलाई बग्न दिइयो, उद्धार गरिएन् ।

 

तर, सिंगो समाजलाई एउटै तराजुमा राखेर दोष दिनु पनि उचित हुँदैन । विपत्तिमा आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिनेहरू पनि छन् । अपरिचितको आँसु पुछ्न आफ्नो गाँस काट्नेहरू पनि छन् । रातदिन नभनी राहत बोकेर पुग्नेहरू पनि छन् । त्यसैले प्रश्न मानवता हरायो कि हराएन भन्ने मात्र होइन, हाम्रो वरिपरि मानवता बाँचेको छ भने त्यसलाई अझ बलियो बनाउने जिम्मेवारी कसको हो ?सरकारले उद्धार, राहत र पुनःस्थापनाको नेतृत्व गर्नुपर्छ । तर विपद् केवल सरकारको परीक्षा होइन, समाजको पनि परीक्षा हो । उद्धारका लागि राज्यका संयन्त्र पुग्न समय लाग्न सक्छ । त्यतिबेलासम्म छिमेकीको हात, स्थानीय युवाको साहस, स्वयंसेवकको सक्रियता र आम नागरिकको संवेदना नै कसैका लागि जीवनको सहारा बन्न सक्छ ।

 

तर हामीमध्ये धेरैको ध्यान भने कहिलेकाहीँ उद्धारभन्दा मोबाइलको क्यामेरातिर जान्छ । कसैको दुःखलाई दृश्य बनाउने, घटनास्थलको भयावहता खिच्ने, अपुष्ट सूचना फैलाउने र भ्यूज तथा भाइरल हुने दौडमा लाग्ने प्रवृत्तिले पीडितको पीडामाथि अर्को पीडा थप्न सक्छ ।याद गरौँ विपत्तिमा एउटा गलत सूचना पनि कसैको परिवारका लागि ठूलो मानसिक आघात बन्न सक्छ । बाढीमा आफन्त हराएको खबर सुनेर छटपटाइरहेको परिवारले सामाजिक सञ्जालमा फैलिएको अपुष्ट मृत्युको खबर देख्दा उसको पीडा कति गहिरो हुन्छ होला ? त्यसैले विपद्को बेला हरेक शब्द जिम्मेवार हुनुपर्छ, हरेक सूचना सत्यापित हुनुपर्छ र हरेक दृश्य सार्वजनिक गर्नुअघि मानवीय संवेदनालाई सम्झनुपर्छ ।

 

विपत्तिमा रमिता हेर्ने समय होइन, भ्यूज कमाउने समय होइन । अरूको दुःखलाई सामग्री बनाउने समय होइन । यो त मानिस भएर मानिसको साथमा उभिने समय हो ।हामी भाग्यमानी छौँ, हामी बाँचेका छौँ । हाम्रा आफन्त सुरक्षित छन् भने त्यो हाम्रो मात्र सौभाग्य होइन, एउटा ठूलो जिम्मेवारी पनि हो । आज सुरक्षित रहेको हाम्रो घर भोलि अरू कसैको आश्रय बन्न सक्छ । आज हाम्रो हातमा भएको एउटा कम्बल, एक बोरा चामल, एक बोतल पानी, एउटा औषधि वा केही घण्टाको श्रम कसैका लागि जीवनको ठूलो सहारा बन्न सक्छ ।

 

त्यसैले आफूलाई एउटा प्रश्न गरौँ , ‘मैले यो विपत्तिमा के गर्न सक्छु ?’ सायद हामी सबै उद्धारकर्मी बन्न सक्दैनौँ । सबैले घटनास्थल पुग्न सक्दैनौँ । तर राहतमा सहयोग गर्न सक्छौँ । सही सूचना फैलाउन सक्छौँ । गलत सूचना रोक्न सक्छौँ । पीडितको सम्मान गर्न सक्छौँ । उद्धारमा खटिएकाहरूलाई सहयोग गर्न सक्छौँ र कम्तीमा पनि अरूको दुःखलाई तमासा नबनाउने निर्णय गर्न सक्छौँ ।

 

संकटले घर र सडक मात्र भत्काउँदैन, यसले समाजको चरित्र पनि देखाउँछ । विपत्तिले हामीभित्रको लोभ र संवेदनशीलता, स्वार्थ र सामूहिकता, मौनता र साहस सबैलाई उजागर गरिदिन्छ । आज भोटेकोशी, रसुवा, धादिङ, नुवाकोटलगायतका विपद् क्षेत्रका पीडितहरूलाई हाम्रो साथ चाहिएको छ । उनीहरूलाई केवल राहत सामग्री होइन, मान्छेहरू अझै मान्छे नै छन् भन्ने विश्वास चाहिएको छ ।

 

हामी जो संयोगले जीवित छौँ, जसका घरमा आज चुलो बलिरहेको छ, जसका प्रियजनहरू सुरक्षित छन् हाम्रो जिम्मेवारी अरूभन्दा अझ ठूलो छ । आउनुस्, विपत्तिको यो कठिन घडीमा नेपालीपनको अर्थ फेरि प्रमाणित गरौँ ।दुःखमा रमिता होइन, साथ दिऔँ । भ्यूज होइन, जीवन रोजौँ । अफवाह होइन, सत्य बोलौँ । स्वार्थ होइन, मानवता रोजौँ । किनकि विपत्तिबाट को बाँच्छ भन्ने कुरा सधैँ हाम्रो हातमा हुँदैन । तर बाँचेकाहरूले बाँचेको जीवन कसरी प्रयोग गर्छन् त्यो भने हाम्रो हातमा अवश्य हुन्छ ।

 

विपत्ति आउँदा हामी कति सुरक्षित छौँ भन्ने मात्र होइन, हामी कति मानवीय छौँ भन्ने पनि परीक्षा हुन्छ । आज अरूको दुःखमा उभिने हाम्रो पालो हो, भोलि त्यही हात हाम्रो सहारा बन्न सक्छ । त्यसैले विपत्तिमा मानवता जोगाऔँ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा