झापा , भदौ १२ । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था, व्यवसायिक प्रतिष्ठान , वित्तीय संस्थाहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग पठाइरहेका छन् ।झापाको अर्जुनधारा नगरपालिकाले भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग स्वरूप प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।नेपाल सरकारको विपद् प्रतिकार्य, उद्धार तथा पुनस्र्थापन कार्यलाई सघाउन नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको आह्वानमा सर्वपक्षीय बैठक आयोजना गरिएको थियो । स्थानीय उद्योगी, व्यापारी, सामुदायिक वन, खानेपानी उपभोक्ता समिति, संस्थागत विद्यालयका प्रतिनिधिहरूसँगको छलफलपश्चात् जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट गरी कुल २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै, बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बिहीवार बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।बैठकमा नगर प्रमुख प्रसाईले बाढीका कारण रसुवा टिमुरे बजारदेखि स्याफ्रुबेसी, नुवाकोटको बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताउनुभयो ।
नगर प्रमुख प्रसाईले उद्धार तथा राहत कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न तथा मानवीय सेवामा जुट्न सम्पूर्ण नागरिक, संघ संस्था र निजी क्षेत्रलाई समेत अपिल गर्नुभएको छ । यस्तै, भदैपुर नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि मेचीनगरका नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा वडा सदस्यहरूले पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने घोषणा गरेका हुन् ।
नगरप्रमुखले रु। ५ हजार र नगर उपप्रमुखले रु। ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । त्यसैगरी कार्यपालिका सदस्यले रु। २ हजार, वडा अध्यक्षले रु। २ हजार तथा वडा सदस्यले रु। १ हजार सहयोग गर्ने भएका छन् ।
विपद्को समयमा पीडितलाई राहत र उद्धारमा सहयोग पुग्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गर्न लागिएको नगर प्रमूख गोपाल चन्द्र बुढाथोकीले बताए ।बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूले उद्धार तथा राहत कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने नगरप्रमुख बुढाथोकीले बताए ।मेचीनगरका जनप्रतिनिधिहरूको यो सहयोगले विपद्को समयमा स्थानीय तहका जनप्रतिनिधिबीचको मानवीय ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वलाई समेत देखाएको छ ।बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि। ले १ लाख ४० हजार, व्यवसायी निर्मल भट्टराईको अगुवामा ३ लाख ५१ हजार, क्वालिटी कम्प्युटर बिर्तामोडबाट ७५ हजार, विराट अर्जुन सहकारी बिर्तामोडबाट १० हजार सहयोग पठाइएको छ । कोषमा जिल्लाका अन्य स्थानीय तहहरु, संघ संस्थारुले पनि धमाधम सहयोगको घोषणा गरिरहेका छन् भने व्यक्तिगत रुपमा पनि सहयोग गर्ने काम भइरहेको छ ।









