काठमाडौं , भदौ १३ । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा सुरु भएको भन्ने प्रचलित धारणा ऐतिहासिक रूपमा अपूर्ण रहेको बताएका छन् । गोपालराज वंशावलीमा नेपाल संवत् ५०३–५०४ मै गाईजात्रा (सायात) को उल्लेख पाइने भएकाले यो परम्परा प्रताप मल्लभन्दा धेरै अघिदेखि नै प्रचलनमा रहेको उनले बताए ।गाईजात्राका सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षबारे नेपाल न्यूज बैंकसँगको कुराकानीमा टन्डनले नेपालमा चन्द्रमाको गतिअनुसार चल्ने चान्द्रायण पञ्चाङ्गका कारण चाडपर्वहरू प्रकृति र जनजीवनसँग लयबद्ध रूपमा जोडिएको बताए ।
उनका अनुसार भारतले ब्रिटिश शासनपछि क्रमशः सौर्य पात्रोलाई प्राथमिकता दिँदा तिथि–केन्द्रित अभ्यास कमजोर बन्दै गयो । नेपालमा भने तिथिअनुसार चाडपर्व मनाउने परम्परा अझै निरन्तर रहेको उनले उल्लेख गरे ।उनका अनुसार कृषिप्रधान समाजमा धान रोपाइँ र गोडमेल सकिएपछि आउने तिथिहरूको सामाजिक र धार्मिक महत्त्व क्रमशः बढ्दै जान्छ । गुँला पर्व, गाईजात्रा, जनैपूर्णिमा, सोह्र श्राद्ध, दशैँ, तिहार र छठजस्ता पर्वहरू यही मौसमी चक्रसँग गाँसिएर समाजमा निरन्तर दोहोरिने सांस्कृतिक लय बनेको उनले बताए ।
टन्डनले गाईजात्राको केन्द्रमा गाईप्रतिको वैदिक सम्मान रहेको बताए । ‘गाईलाई विश्वको माता मानिएको छ,‘ उनले भने, ‘दूध, दही, गोबर र गहुँतको उपयोगितालाई आधुनिक विज्ञानले पनि विभिन्न रूपमा स्वीकार गर्न थालेको छ ।’ गोबरले घर लिप्ने पुरानो अभ्यासमा समेत सरसफाइ र स्वास्थ्यसँग सम्बन्धित वैज्ञानिक आधार रहेको अहिले पुष्टि हुँदै गएको उनको भनाइ छ ।उनका अनुसार गाईजात्रा मृत्युसँग जोडिएको स्मृति–पर्व हो । गएको एक वर्षभित्र परिवारका सदस्य गुमाएका घरबाट गाई वा गाईको प्रतीकसहित जात्रा निकाल्ने चलन विशेषगरी काठमाडौं उपत्यकाको हिन्दु नेवार समुदायमा प्रचलित छ । पुराणमा वर्णित वैतरणी नदी सहज रूपमा तर्न आत्मालाई सहयोग पुग्ने धार्मिक विश्वाससँग यो परम्परा जोडिएको उनले बताए ।
यही कारण गाईजात्राले व्यक्तिगत शोकलाई सामूहिक स्मरण र सामाजिक सहभागितामा रूपान्तरण गर्ने भूमिका खेलेको उनको विश्लेषण छ । गाईजात्राको उत्पत्तिबारे उनले दुई फरक ऐतिहासिक धारणा रहेको बताए ।१९औँ शताब्दीमा लेखिएका भाषा वंशावलीहरूले प्रताप मल्लका पुत्र चक्रपातेन्द्र मल्लको मृत्युपछि रानीलाई सान्त्वना दिन गाईजात्रा सुरु गरिएको उल्लेख गरे पनि त्यो अन्तिम ऐतिहासिक निष्कर्ष नभएको उनको भनाइ छ । गोपालराज वंशावलीमा ‘सायात’ को उल्लेख प्रताप मल्लभन्दा अघिकै प्रमाण भएको उनले बताए ।
यद्यपि, लिच्छविकालका दुई सयभन्दा बढी शिलालेखमा गाईजात्राको प्रत्यक्ष उल्लेख भने नपाइएको उनले स्पष्ट पारे । त्यसबेला गाई, नन्दी र कामधेनुको महत्त्व शिलालेख, मूर्ति र मुद्रामा प्रशस्त देखिए पनि जात्राका रूपमा यसको उल्लेख नदेखिएको उनले बताए । त्यसैले गाईप्रतिको धार्मिक सम्मान प्राचीन भए पनि गाईजात्रा कहिलेदेखि सुरु भयो भन्ने प्रश्नमा गोपालराज वंशावली अहिले उपलब्ध सबैभन्दा पुरानो लिखित प्रमाण रहेको टन्डनको धारणा छ ।
गाईजात्रा सहरको ऐना पनि हो
काठमाडौंका गल्लीमा गाईजात्रा निस्कँदा त्यो केवल दिवंगत आफन्तको सम्झना बोकेको धार्मिक यात्रा हुँदैनथ्यो । त्यो सहरको खबर बोकेर हिँड्थ्यो । कुन घरमा मृत्यु भयो, दरबारमा के घटना भयो, समाजमा कसले के गर्यो र शासकदेखि सर्वसाधारणसम्म कसका कमजोरी के थिए रु गाईजात्राको भीड र त्यससँगै निस्कने व्यंग्यचित्रले धेरै कुरा सुनाउँथे ।
टन्डनका अनुसार गाईजात्राको यही सामाजिक चरित्रले यसलाई काठमाडौंको सांस्कृतिक जीवनमा विशिष्ट बनाएको हो । उनका अनुसार गाईजात्रा ठाउँअनुसार फरक स्वरूपमा मनाइन्छ । काठमाडौं, भक्तपुर, पाटन, देवपाटन, कीर्तिपुर, नाला र बनेपालगायतका ठाउँमा जात्रा निकाल्ने शैली, अवधि, भेषभूषा र प्रस्तुति फरक छन् । कतै एक दिन, कतै तीन दिन त कतै सात दिनसम्म जात्रा चल्ने गरेको उनी बताउँछन् ।काठमाडौंमा परम्परागत रूपमा गाई वा बाच्छाबाच्छीलाई सिँगारेर जात्रा निकाल्ने चलन थियो । अहिले गाई पाउन कठिन हुँदै गएपछि मानिस नै गाईको स्वरूपमा प्रस्तुत हुन थालेका छन् । भक्तपुरमा भने मृतकको तस्बिर राखेर छुट्टै शैलीमा जात्रा निकालिन्छ । देवपाटनमा मानिसलाई सिँगारेर व्यंग्यात्मक र मनोरञ्जनात्मक स्वरूपमा प्रस्तुत गर्ने परम्परा छ ।
‘गाईजात्रा खाली धार्मिक आस्था मात्र होइन, यसभित्र व्यंग्य र प्रहसन पनि प्रवेश गर्यो,‘टन्डन भन्छन,‘मानिसलाई हँसाउने, मनोरञ्जन दिने र व्यंग्य गर्ने माध्यमका रूपमा पनि यो विकसित भयो ।’आज मनोरञ्जनका माध्यम असंख्य छन् । तर विगतमा अवस्था त्यस्तो थिएन । त्यसबेला वर्षमा हुने जात्रा र पर्व नै सार्वजनिक मनोरञ्जनका प्रमुख अवसर थिए । त्यसैले जात्रामा आउने मानिसलाई हँसाउने, व्यंग्य गर्ने र रमाइलो गराउने अभ्यास विस्तारै गाईजात्राको अभिन्न पक्ष बनेको टन्डनको बुझाइ छ ।
विशेषगरी २०३७ सालअघिसम्म गाईजात्रासँग जोडिएका व्यंग्यात्मक सामग्रीको प्रभाव ठूलो रहेको उनी बताउँछन् । गाईजात्राको अवसर पारेर दुई, तीन र चार पानासम्मका विशेष पत्रिका प्रकाशित हुन्थे । मानिसहरू ती पत्रिका किन्न र पढ्न उत्सुक हुन्थे । प्रधानमन्त्रीदेखि राजनीतिक व्यवस्था, शासकदेखि समाजका विकृतिसम्मलाई व्यंग्यको विषय बनाइन्थ्यो ।तर अहिले त्यो अवस्था बदलिएको छ । ‘गाईजात्रा नै किन पर्खनुपर्यो र, सधैं गाईजात्रा छ भन्ने भाष्य पनि बन्न थालेको छ,‘ टन्डन भन्छन् । उनका अनुसार सञ्चार र मनोरञ्जनका माध्यम विस्तारसँगै गाईजात्राको पुरानो सामाजिक भूमिका पनि क्रमशः कमजोर भएको छ ।तर गाईजात्राको अर्को महत्त्वपूर्ण भूमिका थियो । सूचना प्रवाहको आधुनिक सञ्चार सुविधा नभएका बेला जात्राका टोलीहरू सहरको एउटा भागबाट अर्को भागमा पुग्दा उनीहरूले मृत्युसम्बन्धी सूचना पनि बोकेर हिँड्थे । काठमाडौं हनुमानढोका, पाटनमा ५५ झ्याले दरबार आसपासजस्ता सार्वजनिक स्थलमा जात्रा हेर्न मानिस जम्मा हुन्थे । त्यहाँबाट कसको घरमा कसको मृत्यु भयो भन्ने जानकारीसमेत समुदायले पाउँथ्यो ।
काठमाडौं, पाटन र भक्तपुरका गाईजात्राका टोली दरबार हुँदै जाने परम्परा पनि यही सामाजिक सम्बन्धसँग जोडिएको टन्डन बताउँछन् । विगतमा दरबारमा समेत मृत्यु भएका परिवारबाट जात्रा निकालिन्थ्यो । जात्रा टोलीलाई दरबारमा सम्मान गर्ने र उनीहरूलाई खानेकुरा बाँड्ने चलन अहिले पनि कतिपय ठाउँमा कायम छ ।गाईजात्राले त्यसैले मृतकको सम्झना मात्र गर्दैन । यसले एउटा सहरको सामाजिक स्मृति सुरक्षित गर्छ—कसको घरमा मृत्यु भयो, समाजमा के परिवर्तन आयो र समयसँगै परम्परा कसरी फेरियो भन्ने कथा पनि सुनाउँछ ।टन्डनका अनुसार गाईजात्राको स्वरूप बदलिनु अस्वाभाविक होइन। केही परम्परा समयसँगै हराएका छन् । केही नयाँ रूपले आएका छन् । तर परिवर्तनका बीच पनि यसको मूल चरित्र—मृतकको सम्झना, सामाजिक सहभागिता र समाजलाई आफ्नै अनुहार देखाउने व्यंग्य—अझै बाँकी छ । यही कारण गाईजात्रा एउटा पर्वभन्दा बढी समाजको ऐना बनेको छ ।
लाखेनाच ः बालमनमा कौतूहल जगाउने लोकपरम्परा
काठमाडौं उपत्यकाका जात्रा–पर्वमा देखिने लाखेनाच मनोरञ्जनसँगै बालबालिकाको कौतूहल र जिज्ञासा जगाउने सांस्कृतिक परम्परा हो । संस्कृतिविद् टन्डनका अनुसार लाखेको मुख्य उद्देश्य मानिसलाई मनोरञ्जन दिनु भए पनि यसको प्रभाव बालबालिकामा अझ गहिरो हुन्छ ।
लामो कपाल र डरलाग्दो स्वरूपमा प्रस्तुत हुने लाखेलाई देखाएर अभिभावकले बालबालिकालाई फकाउने वा तर्साउनेसमेत गर्छन् । ‘खाना नखाए लाखे आउँछ’ भन्ने कथन त्यसकै एउटा उदाहरण हो । तर लाखेको स्वरूपभित्र वास्तवमा मानिस नै रहेको कुरा बालबालिकाले सुरुवाती अवस्थामा थाहा पाउँदैनन् । त्यसले उनीहरूमा अर्को लोक वा संसारबाट आएको कुनै पात्रजस्तो कौतूहल सिर्जना गर्ने टन्डन बताउँछन् ।लाखे विभिन्न जात्रा तथा पर्वमा देवीदेवतासँग सम्बन्धित स्वरूपमा प्रस्तुत हुने भएकाले यसको नाच्ने समय र अवसर पनि परम्पराले निर्धारण गरेको हुन्छ । जात्रामा लाखे नदेखिँदा मानिसले पर्व नै खल्लो भएको अनुभूति गर्ने गरेको उनी बताउँछन् । टन्डनका अनुसार लाखेनाचले मनोरञ्जनसँगै बालबालिकामा प्रश्न गर्ने, खोजी गर्ने र नयाँ कुरा बुझ्ने संस्कारसमेत विकास गराउँछ ।

