झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी भइरहेकोतर्फ जिल्ला सुरक्षा समितिको बैठकमा प्रहरीको ध्यानाकर्षण गराइएको हो । झापाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सीमामा भइरहेको तस्करीका बारेमा व्यापक छलफल भएको एक सुरक्षा अधिकारीले बताए ।काँकरभिट्टाबाट रातैभरी सामान तस्करी भइरहेको छ । सँुगुर ठ्याक, पिङ्की ठ्याक, तुर्केनी, चर्च पूर्व र नकलबन्दा लगायतका स्थानबाट रातभरी लसुन, स्याउ, सुपारी र ओखर नेपालबाट भारततर्फ तस्करी भइरहेको जनाइएको छ । त्यस्तै भारतबाट पनि ठूलो मात्रामा कपडा , मोबाइल पार्टस , खाद्यान्नका सामान तस्करी हुँदै आएको छ ।
सशस्त्र प्रहरी बल नेपालले यस आर्थिक वर्षमा ९ साउन महिनायता० बरामद गरेको अवैध सामानको परिमाणबाट पनि सीमा तस्करी बढेको पुष्टि भएको छ । सशस्त्र प्रहरी बलले साउन १ देखि भदौ १० गतेसम्म २ करोड २४ लाख ५० हजार ६८ रुपैयाँ मूल्यको अवैध सामान बरामद गरेको छ ।साउन महिनामा सशस्त्र प्रहरीले १ करोड ५५ लाख ६५ हजार ६२६ रुपैयाँको सामान बरामद गरेको थियो भने भदौ महिनामा १० गतेसम्म ६८ लाख ८४ हजार ४४२ रुपैयाँको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हेडक्वार्टर झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिए।
साउन महिनामा सशस्त्र प्रहरीले १४ वटा सवारी साधन नियन्त्रणमा लिई सवारी साधन र अवैध सामान गरी १ करोड २६ लाख ४ हजार ७९१ रुपैयाँको सामान भन्सार दाखिला गरेको थियो । त्यस्तै सशस्त्र प्रहरीले लागूऔषधतर्फ ब्राउन सुगर ७५।८२ ग्राम र १९ बोतल सिरफसहित १२ जना मानिस र एउटा सवारी साधनलाई पक्राउ गरेको थियो । नदीजन्य उत्खनन् गर्ने १० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो भने १० लाख ४६ हजार ३३५ रुपैयाँ बराबरको ५१४ क्यु फिट काठ बरामद गरेको थियो ।त्यस्तै भदौ महिनाको १० गतेसम्म ६ वटा सवारी साधन नियन्त्रणमा लिई सवारी साधन र अवैध सामान गरी ६२ लाख ९७ हजार ४४२ रुपैयाँको सामान दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिएका छन्। त्यस्तै नदीजन्य उत्खनन्तर्फ ८ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो । लागूऔषधतर्फ ११।८७ ग्राम ब्राउन सुगरसहित ४ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।सशस्त्र प्रहरी बलले झापामा गत वर्ष १३ करोडभन्दा बढीको अवैध सामान बरामद गरेको थियो ।









