बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय सुजन श्रेष्ठले यस्तै भनेका थिए। कामको सिलसिलामा रसुवा पुगेका सुजन त्यसपछि भने परिवारको सम्पर्कमा आएका छैनन्।भदौ १० गते बुधबार बिहान रसुवामा आएको भीषण बाढीपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिका(७ चारपालाका सुजन सम्पर्कविहीन भएका हुन्। उनको अवस्थाबारे परिवारले अहिलेसम्म कुनै जानकारी पाउन सकेको छैन।घरमा अहिले बुबाआमा, श्रीमती सुस्मा र आठ वर्षीया छोरी सुजन फर्किने आसमा बाटो कुरिरहेका छन्।सुजनले करिब नौ महिनाअघि ऋणधन गरेर सेकेन्ड ह्यान्ड ट्रक किनेका थिए। वर्षौँदेखि चालकका रूपमा काम गर्दै आएका उनले गत मङ्सिरमा आफ्नै ट्रक किनेपछि सामान ढुवानी गर्न थालेका थिए।
आफ्नै ट्रक भएपछि उनी सामानको खोजीमा विभिन्न जिल्ला पुग्ने गर्थे। वीरगन्ज, नारायणगढ, बागलुङ, पर्वतलगायतका ठाउँमा सामान ढुवानी गर्दै आएका उनी पहिलो पटक ट्रक लिएर रसुवा पुगेका थिए।घटना हुनुअघिसम्म परिवारसँग उनको नियमित सम्पर्क थियो। भदौ ९ गते राति श्रीमतीसँग कुराकानी गरेका सुजनले भोलिपल्ट बिहान करिब ७ बजेतिर छिमेकी दाइसँग पनि फोनमा कुरा गरेका थिए। त्यसपछि भने उनको मोबाइलमा सम्पर्क हुन सकेन।परिवारले पाएको जानकारीअनुसार सुजनसहित सात जना एउटा होटेलमा बसेका थिए। रसुवाबाट कहाँ सामान लैजाने भन्नेबारे भने उनले श्रीमतीलाई प्रस्ट जानकारी दिएका थिएनन्।
‘अघिल्लो राति करिब ८ बजेतिर पनि उहाँसँग कुरा भएको थियो। भोलिपल्ट भन्सार पास भएपछि आउँछु भन्नुभएको थियो, तर बिहानदेखि सम्पर्क हुन सकेको छैन,’ सुस्माले भनिन्।सुजन खाली ट्रक लिएर फर्किनुभन्दा बाटोमा जहाँ सामान पाइन्छ, त्यहीँबाट लोड गरेर ल्याउने गर्थे। ट्रकको किस्ता तिर्न र परिवारको खर्च धान्न नियमित काममा निस्कनुपर्ने बाध्यता उनलाई थियो।
‘पुरानो ट्रक किन्दा ऋणधन पनि लागेको थियो। त्यसको किस्ता तिर्न र कमाउन जहाँ सामान पाइन्छ, त्यहीँ जानुपर्थ्यो,’ सुस्माले भनिन्, ‘तर, अहिले रसुवामा भएको घटनाले हामी निकै तनावमा छौँ।’सुजनको स्थायी घर तनहुँको मनमाङ गाउँपालिका भए पनि उनको परिवार दुई दशकदेखि सुनवलमा बस्दै आएको छ। २०७४ सालमा दाङकी सुस्मासँग विवाह गरेका सुजनको परिवार संयुक्त छ।रसुवामा बाढी आएपछि विभिन्न स्थानमा शव भेटिएका र केही व्यक्तिको उद्धार भएका समाचार सार्वजनिक भइरहेका छन्। यस्ता समाचारले परिवारको चिन्ता झन् बढाएको छ। सँगसँगै त्यही समाचारले एउटा आस पनि जगाइरहेको छ( कतै सुजन पनि अप्ठ्यारोमा परेर उद्धारको प्रतीक्षामा त छैनन्रु‘रसुवामा बाढी आएपछि धेरैको शव भेटिएको र केहीको उद्धार भएको समाचार आइरहेका छन्। उहाँ पनि कतै अप्ठ्यारोमा पर्नुभएको होला, उद्धार भएर आउनुहुन्छ भन्ने आसमा छौँ,’ सुस्माले भनिन्।
सुजन सम्पर्कविहीन भएको जानकारी परिवारले प्रहरीलाई गराइसकेको छ। तर, आफैँ रसुवा पुगेर खोजी गर्न सक्ने अवस्था परिवारसँग छैन।त्यसैले अहिले सुनवलको चारपालास्थित घरमा उनीहरू मोबाइलको घण्टी बज्ने प्रतीक्षामा छन्। कुनै अपरिचित नम्बरबाट फोन आउने र सुजन भेटिएको खबर सुन्न पाइने आसमा परिवारको दिन बितिरहेको छ।‘हामीले प्रहरीलाई सम्पर्क नभएको जानकारी गराएका छौँ, आफैँ त्यहाँ गएर खोजतलास गर्न सक्ने अवस्थामा पनि छैनौँ,’ सुस्माले भावुक हुँदै भनिन्, ‘घरमा बुबाआमा, म र छोरी उहाँकै प्रतीक्षामा छौँ। कतैबाट उद्धार भएर आउनुहुन्छ भन्ने आसमा प्रार्थना गरेर बसेका छौँ।’



