नुवाकोट , भदौ १४। रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरूले आफूले भोगेको भयावह क्षण सुनाएका छन् ।बाढीबाट बच्ने क्रममा नाङ्गो खुट्टामै दौडिनुपरेको र एकातिर बाढी तथा अर्कोतर्फ माथिबाट विद्युत् प्रसारण लाइन साथै रूखका हाँगा खस्दा आफूहरू बीचमै अल्झिएको एक इन्जिनियरले बताए ।

उनका अनुसार बाढीको जोखिम बढेपछि आफूहरूले तत्काल सुरक्षित स्थानतर्फ भाग्ने प्रयास गरेका थिए । त्यसक्रममा उनले चप्पलसमेत फालेर नाङ्गो खुट्टामै दौडिएको बताए ।‘मै.ले चप्पल फालिदिएँ, नाङ्गै खुट्टा दौडिएँ,’ उनले भने । तर सुरक्षित स्थानतर्फ अघि बढ्ने क्रममा माथिबाट विद्युत् प्रसारण लाइनका तारहरू खस्न थालेपछि अवस्था झन् जोखिमपूर्ण बनेको उनले सुनाए । तार खस्दै आएर रूखको हाँगामा ठोक्किएको र उक्त हाँगासमेत आफ्नै अगाडि खसेपछि आफू अगाडि बढ्न नसकेको उनले बताए ।

‘माथिबाट तार खस्यो, अगाडि झ¥यो अनि रूखको एउटा हाँगामा हान्यो, त्यो हाँगो पनि आफ्नै अगाडि झ¥यो । अगाडि जान सकिन, पछाडि बाढी थियो,’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।अगाडि बढ्न खोज्दा थप जोखिम हुने र पछाडि फर्किन पनि बाढीका कारण सम्भव नभएको अवस्थामा केही समय त्यहीँ अडिएर बसेको उनले बताए । आफूले जथाभावी भाग्दा लडेर दुर्घटनामा पर्न सक्ने जोखिमसमेत महसुस गरेको उनको भनाइ छ ।‘नहेरीकन भागेँ भने झन् यसरी लडाएर सुताउँछ जस्तो लाग्यो,’ उनले भने ।त्यसपछि प्रसारण लाइनको संरचनासहितको अर्को भागसमेत अचानक खसेको उनले बताए । त्यसबाट जोगिन आफू र आफ्ना सहकर्मी वसन्त दुवै तत्काल पर हटेको उनले सुनाए ।

‘त्यो झ¥यो अनि त्यहाँबाट वसन्त पनि तर्कियो, म पनि तर्किएँ । त्यहाँ ठ्याक्कै केही पनि भएन,’ उनले भने ।बाढी र माथिबाट खसिरहेका संरचनाबीच ज्यान जोगाएर केही माथि सुरक्षित स्थानमा पुगेपछि आफूहरू केही समय त्यहीँ बसेको उनले बताए । चिलिमे क्षेत्रमा देखिएको उक्त भयावह अवस्थाबाट सकुशल बाहिरिन पाउनु आफ्ना लागि नयाँ जीवन पाएजस्तै भएको उनको अनुभव छ ।बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरू अहिले एकअर्कासँग घटनाका अनुभव साटासाट गर्दै बसेका छन् । लामो समयसम्म त्रासमा रहेका उनीहरू सकुशल भेटिन पाएको खुसीसमेत एकअर्कासँग बाँडिरहेका छन् ।