रसुवा ,१४ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीहरूले २५९ वटा शव सङ्कलन गरेका हुन् । तीमध्ये ९ वटा शव मात्रै सनाखत भएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले बताउनु भयो ।
प्रहरीको दुई जना असई सहित ९ जनाको पहिचान खुलेको छ । नुवाकोट घर भएका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल र रामेछाप घर भएका अर्का प्रसनि रामहरि खड्काको पहिचान खुलेको हो । बाँकेको कोहलपुर नगरपालिका–११ घर भएका कविलाल चौधरी, रसुवाको उत्तरगया–१ स्थित बेत्रावती घर भएका भुवन थापा मगर, मकवानपुरको हेटौँडा–१५ घर भएका रमेश मगर, नुवाकोट ककनी घर भएका अर्जुन बलामी, कोहलपुर–११ का रमेश थारु, नुवाकोट किस्पाङकी तेरिना गुरुङ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ घर भएका पेमा सिंह शेर्पाको शव पहिचान भएको छ । उनीहरूका परिवार र आफन्तले शव सनाखत गरेको एसएसपी धमलाले जानकारी दिनुभयो।
चितवनमा भेटिएको ९६ वटा शव गाडेर व्यवस्थापन गरिएको छ । देवघाट धामको बिच जङ्गलमा पहिचान नभएका शव गाडेर सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भूषण यादवले जानकारी दिनुभयो ।









