काठमाडौँ ,१४ भदौ। भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ ।बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लासमेत प्रभावित बनेको छ । रसुवा भन्सारदेखि धादिङसम्म कति भौतिक र मानवीय क्षति भयो भन्ने यकिन विवरण अझै आइसकेको छैन ।बाढी आएको आइतबार पाँच दिनसम्म पनि नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रका उद्धार गर्न सकिएको छैन । उद्धारमा ढिला भएको भन्दै बाढी प्रभावित क्षेत्रका स्थानीयले तत्काल उद्धार गरिदिन माग गरिरहेका छन् । सरकार बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा लागिरहेको छ । तर उद्धार र राहत कार्यमा ढिलाइ भएको गुनासो पनि बढिरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भौगोलिक जटिलता र पूर्वाधारको अभावको कारण केही ढिलाई भएको स्वीकार गरेको छ ।यसैबिच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले गुनासो बढेकाले उद्धार कार्यलाई तीव्रता दिन र जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकलाई निकाल्न भारतीय र चिनियाँ विशेषज्ञ टोलीसहितको आधुनिक प्रविधि परिचालन गरिएको बताउनु भयो । तर, सुरुङ मार्ग ९टनेल० र विकट हिमाली क्षेत्रमा भएको क्षतिका कारण उद्धारमा प्राविधिक चुनौतीहरू देखा परेको उहाँको भनाइ छ ।
सरकारले जोखिमयुक्त क्षेत्र र सुरुङहरूमा फसेकाहरूको उद्धारका लागि भारतीय र अन्य विदेशी प्राविधिक टोली परिचालन गरेको जनाएको छ । उत्तरी नाका र आसपासका क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन् । बेपत्ताहरूको खोजीमा भइरहेको ढिलाइका विषयमा प्रमुख उप्रेतीले भन्नु भयो, ‘हामीले स्क्यान गर्ने अत्याधुनिक मेसिनहरू फिल्डमा पठाएका छौँ । त्यसले रातदिन स्क्यान गरेर जीवित वा मृत अवस्थामा रहेका मानिसहरूको पहिचान गरी उद्धार गर्ने काम गरिरहेको छ । प्रविधिको अधिकतम प्रयोग गर्दा पनि जटिल भूबनोटका कारण समय लागिरहेको छ ।’
शव व्यवस्थापनमा ठुलो चुनौती
विपद्मा मानवीय क्षति अत्यधिक हुँदा शव व्यवस्थापन सरकारका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ । अहिलेसम्म ७३५ जनाको मृत्यु भइसकेको छ भने २ हजार ४३६ जना अझै बेपत्ता छन् । यद्यपि मृत्यु संख्या बढ्दै गइरहेको छ । रसुवालगायत जिल्लामा बिजुली नहुँदा कोल्ड स्टोर सञ्चालन हुन नसकेको र शव सुरक्षित राख्न कठिन भएको प्राधिकरणले जनाएको छ । चितवनतर्फ केही सहज भए पनि जटिल अवस्था भएका ठाउँहरूबाट १५० वटा शव हेलिकप्टरमार्फत एयरलिफ्ट गरेर काठमाडौँ ल्याइएको छ ।
प्रभावित क्षेत्रमा उद्धारसँगै राहतलाई प्राथमिकतामा राखिएको छ । प्राधिकरणका अनुसार १२ वटा छुट्टाछुट्टै क्याम्प खडा गरी मेडिकल टोली, खाना, औषधि र अक्सिजनको व्यवस्था मिलाइएको छ । स्थानीय तहहरूलाई उद्धार र राहतका लागि आवश्यक पर्ने बजेट तत्काल निकासा गर्ने प्रक्रिया समेत अघि बढाइएको उप्रेतीले जानकारी दिनु भयो ।
ड्रोनबाट क्षति मूल्यांकन र आगामी रणनीति
बाढीपहिरोले सडक, पुल, जलविद्युत र खानेपानीमा पुर्याएको क्षतिको आकलन गर्न‘र्यापिड ड्यामेज एसेसमेन्ट टोली खटिएको छ । यो टोलीले ड्रोनमार्फत विपद् अघि र पछिको म्यापिङ गरिरहेको छ । ‘एक हप्ताभित्र क्षतिको प्रारम्भिक विवरण आउनेछ, त्यसपछि हामी पोस्ट डिसास्टर निड एसेसमेन्ट र विस्तृत क्षति मूल्यांकनमा जानेछौँ,’ उप्रेतीले भन्नु भयो ।
यो विपद्ले नदीको माथिल्लो र तल्लो तटीय क्षेत्रमा फरक–फरक रणनीति अपनाउनुपर्ने पाठ सिकाएको बताउँदै प्राधिकरणले आगामी दिनमा हिमताल र उच्च हिमाली क्षेत्रमा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन छिमेकी राष्ट्रहरूसँग समन्वय र सूचना आदानप्रदान गरिरहेको जनाएको छ ।









