‘आमाको शव आफैं उठायौँ, मलामी पनि भएनन्’ : बाढीले सुनसान बनाएको बेत्रावती

 नुवाकोट (बेत्रावती) , १४ भदौ । बेत्रावतीका विवश र विश्वास श्रेष्ठले बाढी आएको तेस्रो दिन घर नजिकै आमाको शव फेला पारे । ७२ वर्षीय बुबा र ६५ वर्षीय आमालाई बाढीले बगाएको खबर पाएपछि दुई दाजुभाइ बाढी आएको भोलिपल्ट ११ गते बेत्रावती पुगेका थिए ।‘स्थानीयले आमाको शव देखेर खबर गरेपछि यहाँ आएका हौँ । तर शव झिक्न सकेका छैनौं,’ बेतावतीबाट २ घण्टामाथि केराघारीमा बास बसेका विवशले भने, ‘उद्धारको लागि प्रशासन आएको छैन । गाउँमा मान्छे छैनन् ।’‘बेत्रावती पुग्ने बित्तिकै आमाको शव खोज्न घर भएतिर गएको तर लेदोले जान सकिएन । त्यसपछि केराघारी आएर बसेका हौँ,’ उनले भने ।

तेस्रो दिन बिहानै दाजुभाइ फेरि बेत्रावतीतर्फ लागे । त्यो दिन पनि शव झिक्न सकेनन् । ‘चौथो दिन १३ गते बिहान आमाको शव आफैंले झिक्यौं,’ उनले भने, ‘हिजो दाहसंस्कार गर्‍यौं । मन रोइरहेको छ । सुत्न सकेको छैन । हिम्मत आएको छैन,’ विवशले भने ।बेत्रावतीमा बाढीले बगाएर भेटिएका शवको दाहसंस्कार गर्ने र मालामी जाने मान्छेसमेत छैनन् । ‘हामी दाजुभाइसहित ४–५ जना थियौं । बस्ती पूरै बगाएको छ । मलामी नै भएनन्,’ उनले भने, ‘काका, ठूलोबुबा र मामाको छोरा हुनुहुन्थ्यो । गाउँको एउटा भाइले दाउरा ल्याएर सहयोग गर्नुभयो ।’बाढीले बस्ती नै बगाएपछि दाहसंस्कार गर्ने ठाउँसमेत थिएन । ‘अहिले घर भएकै ठाउँबाट खोला बगेको छ । अर्को ठाउँमा लैजान बाटो छैन । अर्काको जग्गामा जलाउन पनि मिलेन । आफ्नै घर अगाडि जलायौं । खोलाको पानीले पखाल्यौं,’ उनले भने । काजकिरिया गर्नको लागि घर नभएपछि विवशका दाजुभाइ काठमाडौं फर्किएका छन् ।

विवश र विश्वास कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । बेत्रावतीमा आमा, बुबा र काका बस्ने गरेका थिए । ‘घरमा तीन जना हुनुहुन्थ्यो । बुबा-आमालाई बगायो । काका गोठमा जानु भएको भएर जोगिनुभएको छ,’ विवशले भने, ‘बुबा अझै बेपत्ता हुनुहुन्छ ।’गाउँमा काजकिरिया गरेर बस्ने घर नभएकाले विवश दाजुभाइ काठमाडौं आएका हुन् । ‘आमाको काजकिरिया आजदेखि सुरु गरेका छौँ,’ उनले भने, ‘गाउँमा काका एक्लै पर्ने भएपछि यतै लिएर आएका छौँ ।’बेत्रावतीमा बाढीका कारण शव उठाउने मानिससमेत भेट्न मुस्किल छ । ‘धेरैलाई बगायो । बाढीको त्रास अझै छ । बस्ने घर छैन । बाँचेकाहरू लाखापाखा लागेका छन्,’ स्थानीय नारायणलाल डंगोलले भने, ‘खोलामा यत्रतत्र रहेका शवबाट दुर्गन्ध आउन थालेको छ ।’

बाढी आएको भोलिपल्ट ११ गते दिउँसो अनलाइनखरबको टिम बेत्रावती पुग्दा उद्धारमा खटिइरहेका थिए, आशिष तामाङ । आशिषले बेत्रावतीको घण्टाघरबाट भाउजुको शव निकालेर माथि डिलमा ल्याएर राखे । तर उठाउने मान्छे कोही भएनन् ।‘प्रहरीलाई खबर गर्दा आएको छैन । आउँछु भनेको छ, कति बेला आउने हो थाहा छैन,’ उनले भने । बेत्रावतीको घण्टाघरसँगै एनआईसी बैंक थियो, त्यहीँ कार्यरत थिइन् उनकी भाउजु ।अरू कर्मचारी भाग्न सफल भए पनि उनकी भाउजु बाढीको भेलमा परेकी थिइन् । शव फेला परेको भोलिपल्ट उनका श्रीमान् नवराज तमाङ आएर दाहसंस्कार गरे । ‘उहाँको श्रीमान् आएर शव लानुभयो । भोलिपल्ट केराघारीमा लगेर दाहसंस्कार गर्नुभयो,’ स्थानीय नारायणलाल डंगोलले भने ।बस्ती नै रित्तो भएकाले शव उठाउने र मलामी जाने मान्छे नभएको उनले बताए । ‘पहिले बाक्लो बस्ती थियो । तर अहिले घरै छैनन् । मान्छे बगाएको छ । अझै बाढीको त्रास छ,’ उनले भने, ‘बस्तीका यो घर, त्यो घर, ओल्लो, पल्लो, तल्लो सबैको घरमा कोही न कोहीलाई बगाएको छ ।’

स्थानीय योगेश डंगोलका अनुसार कतिपयको बाढीबाट सबै परिवार बितेकाले दाहसंस्कार गर्नेसमेत कोही छैनन् । ‘कसैको घरमा सबैलाई बगाएको छ । अब कसले दाहसंस्कार गर्ने हो थाहा छैन,’ उनले भने । तर एउटै परिवारका सबै बेपत्ता हुनेको संख्या यकिन भएको छैन ।‘सबैलाई बगाएको छ । बेपत्ता भएको भनेर कसले जानकारी दिने । आँखै अगाडि बगाएको देखेको छु । अहिले पनि खुट्टा कापिरहेको छ,’ उनले भने ।

२०० बढी घरधुरी रहेको बस्तीमा १ हजारभन्दा धेरै मानिस रहेको उनको अनुमान छ । तर यकिन तथ्यांक आएको छैन । ‘बस्ती शून्य घाट जस्तो भएको छ । शोकमा छ । के भन्ने खोई, शब्दविहीन भएका छौँ,’ डंगोलले भने ।भागेर बाँचेकाहरू पनि तितरबितर भएका छन् । बस्ने बास र खाने गाँस नभएपछि विभिन्न ठाउँमा आश्रय लिन पुगेकाले पनि बेत्रावतीमा मान्छे नभएका हुन् । ‘कोही केराघारी, कोही गेर्खु, कोही सदरमुकाम आएर बसेका छन् । जहाँ आफन्त छन् त्यहीँ गएका छन् । कति काठमाडौं आएका छन्,’ स्थानीय इन्द्रमाया डंगोलले भनिन् ।

प्रशासनबाट बाढी आइरहेको खबर आए पनि कस्तो खालको बाढी भएको सूचना नै पुग्न नसक्दा धेरै मानवीय क्षति भएको स्थानीय बताउँछन् ।‘बाढी कत्रो आउँदैछ भन्ने जानकारी दिनुपर्थ्यो । यहाँका लागि त बाढी सामान्य नै भएर कसैले आकलन नै गर्न सकेन,’ विवशले भने, ‘स्याफ्रुबेशी गयो, चिलिमे गयो, टिमुरे गयो र यहाँ पनि केही बाँकी रहन्नन् भनिदिएको भए यो खालको क्षति हुँदैन्थ्यो ।’बेत्रावती वरपर बाढीले बगाएर ल्याएका शवहरू छन् । तर उठाउने न स्थानीय नै छन् न प्रशासन पुगेको छ । ‘तेस्रो दिन दिउँसो एपीएफको एउटा टोली आएको थियो । राहत ल्याएको थिएन । एउटा कुकुर लिएर हिँड्दै आएको थियो । फेरि बाढी आउने हल्ला चल्यो । त्यसपछि उद्धार नै नगरी फर्कियो,’ डंगोलले भने, ‘मान्छेको शव र मरेका पशु-चौपयाका कारण दुर्गन्ध फैलिएको छ । सरकारको प्रतीक्षामा छौँ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘आमाको शव आफैं उठायौँ, मलामी पनि भएनन्’ : बाढीले सुनसान बनाएको बेत्रावती

 नुवाकोट (बेत्रावती) , १४ भदौ । बेत्रावतीका विवश र विश्वास श्रेष्ठले बाढी आएको तेस्रो दिन घर नजिकै आमाको शव फेला पारे । ७२ वर्षीय बुबा

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे पालिका प्रमुखहरूसँग रविको छलफल

काठमाडौँ ,१४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्नु भएको छ।आइतबार

भोटेकोशी बाढीको क्षति भयावह, ७८८ शव फेला; उद्धारमा झन्डै ८ हजार प्रहरी

काठमाडौं , भदौ १४ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज

भोटेकोशी बाढी राष्ट्रिय विपत्ति हो, विपत्तिमाथि राजनीति नगरौँ : ओली

काठमाडौं , भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन्

बाढीपीडितको उद्धारमा रास्वपा २४ घण्टा मैदानमा : प्रवक्ता खरेल

काठमाडौं , भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा

उद्धारमा विदेशी टोली परिचालन, शव व्यवस्थापनमा चुनौती

काठमाडौँ ,१४ भदौ। भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ ।बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लासमेत प्रभावित