काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका १९ हजार सुरक्षाकर्मी फिल्डमा उद्धारका लागि खटिएका छन् । तर प्रभावितहरूको उद्धारमा चार चुनौती रहेको सुरक्षाका निकायका अधिकारीहरूले बताएका छन् ।सडक सञ्जाल नहुँदा हवाई उद्धारमा मात्रै केन्द्रित हुनुपरेको, भोटेकोशीको बहाव पुनः बढ्नसक्ने स्थिति रहेको, प्रविधिको कमी, शव व्यवस्थापनमा कठिनाइका कारण उद्धारमा चुनौती थपिएको हो ।
शनिवारदेखि उद्धारमा खटिएका सुरक्षाकर्मी सहित चिन र भारतबाट आएका विज्ञसहितको टोलीले त्रिशुली हाइड्रो ‘थ्री ए’ को टनेलमा फसेकाहरूको उद्धारमा सक्रिय छन् ।नेपालीको सेनाको टोली अस्थायीरूपमा हाइड्रो नजिक क्याम्प बनाएर बसेको छ । आइतबार थप ९३ जनाको टोली थप गरेर ड्रिलिङ मेसिन, स्काभेटर हाइड्रोलिक कटरको प्रयोग गरेर उद्धारको प्रयास जारी राखेको छ । तर, टनेलको प्रवेशद्वार अझै पत्ता लागेको छैन।नेपाली सेनाका अनुसार हाल सेनाले आफ्नो आठ हजार चार सय जनशक्ति पूर्णरुपमा उद्धारमा खटाएको छ । सेनाबाहेक नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीसहित १९ हजार जनशक्ति उद्धारमा सक्रिय छन् ।
बाढीका कारण मर्नेहरुको संख्या र बेपत्ताको सुची बढ्दो छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार बाढीमा परेर मृत्यु हुनेको संख्या ७५२ पुगेको छ ।यसरी नै बेपत्ताको सूचीमा ४ हजार ४८७ जना छन् । यसमध्ये सात सय ८८ जना विदेशी नागरिक पनि छन् । मृतकमध्ये शवको पहिचान भएको २९ वटा शव परिवारलाई बुझाइएको डीआईजी काफ्लेले बताउनु भयो ।गएको बुधबार भदौ १० गते बिहान तिब्बतबाट बग्ने लेन्दे भोटेकोशी हिमनदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसमेत प्रभावित पारेको थियो ।रसुवाको टिमुरे बजार, स्याफ्रेवेशीसहित नुवाकोटको बेत्रावती, त्रिशुली बजार र देविघाट पूर्णरुपमा क्षतिग्रस्त छ ।
उद्धार कार्यका यी हुन मुख्य चुनौती
बाढी लगत्तै सरकारले उद्धार कार्यका लागि ठूलोमात्रामा सुरक्षाकर्मीको टोली खटाएको छ । बाढीमा परेकाको तत्काल उद्धारका लागि सरकारले नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकोप्टरहरू परिचालन गरेको थियो । तर, उद्धार कार्यको प्रभाव भने त्यति राम्रो देखिएको छैन।त्रिशुली ‘थ्री ए’ हाइड्रोको टनेलभित्र फसेका ४० जनाको उद्धार चारदिनसम्म हुनसकेको छैन । सेनाले भने त्रिशुली नदीमा लेदोसहितको पानीको बहाव उच्च र पुनः बाढी आउने जोखिमले गर्दा त्रिशुली हाइड्रोको उद्धार कठिन बनेको हो ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी काफ्लेका अनुसार बाढी प्रभावितहरूको उद्धारका क्रममा विभिन्न कारणले कठिनाइ भएको छ।डीआईजी काफ्ले भन्नु हुन्छ, हामी निरन्तर उद्धारकार्यमा सक्रिय छौँ । तर, मुख्य चार कारणले उद्धारकार्यमा ठूलो प्रभाव पारेको छ हामीसित जनशक्ति हुँदा पनि सोचे जसरी उद्धारकार्य गर्न सकिराखेका छैनौँ ।’’
काफ्लेले बताए अनुसार उद्धारकार्य कठिन हुनुको पहिलो कारण पुनः भोटेकोशीमा बाढी आउने जोखिम हो । बाढीका कारण तिब्बतमा थुनिएको लेन्दे हिमनदीको ताल फुट्ने जोखिम रहेको चिनियाँ पक्षले गराएपछि उद्धारकार्यमा खटिएको टोली पकट–पटक ब्याक हुनुपरेको छ ।आइतबार रातिमात्रै भोटेकोशीको बहाव एक्कासि बढेको थियो । यद्यपि अब थुनिएको तालको पानीको निकास क्रमशः भइरहेकाले जोखिम कम हुने आकलन गरिएको छ ।उद्धारकार्यमा दोस्रो कठिनाइ हुनेको कारण सडक सञ्जाल हो । बाढीका कारण सडकमार्ग अवरुद्ध हुँदा उद्धारटोली हेलिकोप्टरको मात्रै भरपर्नु परेको डीआईजी काफ्लेले बताउनु भयो ।
त्यस्तै उद्धार कार्यमा सबैभन्दा असर लेदोको पनि छ । प्रविधिको अभावले पनि असर गरेको डीआईजी काफ्लेको भनाइ छ ।बाढीले तटीय क्षेत्रमा गेग्रानसहितको लेदो जम्मा हुँदा उद्धारमा खटिएका टोली प्रभावितसम्म पुग्नसमेत हम्मे हम्मेपरेको छ । लेदोमा फसेका कारण उद्धारटोली नै जोखिममा पर्ने अवस्था देखिएको छ ।यसरी नै विभिन्न हाइड्रोपावरको टनेलभित्र फसेकाहरूको समयमा उद्धार गर्न नसक्नुको कारण प्रविधिको अभाव रहेको डीआईजी काफ्ले बताउँनु भयो । प्रहरीलाई अर्को चुनौती बाढीले क्षतविक्षत पारेको शवहरूको व्यवस्थापनमा देखिएको छ । पहिचान हुन नसक्ने शवहरू कुहिने जोखिम देखिएको डीआईजी काफ्लेले बताउनु भयो ।‘‘पहिचान नहुने शवहरूको व्यवस्थापन गर्न हामीलाई अर्को ठूलो चुनौती थपिएको छ । फेलापरेका शवहरूको डीएनए प्रोफाइलिङका हामीले स्याम्पल लिएर अहिले माटोमुनि सुरक्षित हुनेगरी व्यवस्थापन गर्ने निर्णय गरेका छौँ,’’ डीआईजी काफ्लेले थपे,‘‘यो अन्तिम व्यवस्थापन होइन । पछि परिवारको डीएनएसँग मेल खाए शव उत्खनन गर्न सकिन्छ ।’’
हाल पहिचान नभएका शवहरू चितवनमा अन्तर्राष्ट्रिय रेडक्रस समिति ९आइसीआरसी० को मापदण्ड अनुसार नै शवको व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।









