जर्मनीले गत महिना लाइपजिग विमानस्थललाई लक्षित गर्दे गरेको ड्रोन आक्रमणमा रुस जिम्मेवार रहेको आरोप लगाएको छ। साथै, जर्मनीले मस्कोविरुद्ध नयाँ कदमहरू घोषणा गरेको छ।
जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्टले जर्मनी युद्धमा नरहे पनि हरेक दिन हाइब्रिड आक्रमणको निशाना बनिरहेको बताएका छन्। उनले देशको सुरक्षा जोखिमको स्तरलाई ‘सामान्य’बाट बढाएर ‘उच्च’ बनाइएको जानकारी दिए।
जर्मनीका विदेशमन्त्री योहान वाडेफुलले बोनस्थित रुसी वाणिज्य दूतावास र बर्लिनस्थित सांस्कृतिक केन्द्र रसियन हाउस बन्द गर्न पनि आदेश दिएका छन्। साथै, जर्मनी प्रवेश गर्ने रुसी नागरिकमाथि थप कडा जाँच तथा नियन्त्रण गर्ने निर्णय गरिएको छ।
युरोपेली संघ ९ईयू० को कार्यकारी निकायकी अध्यक्ष उर्सुला फन डेर लेयनले पनि युरोपेली विदेशमन्त्रीहरूले यसै साता रुसलाई ‘स्पष्ट जवाफ’ दिने बताएकी छन्। उनका अनुसार त्यसमा थप प्रतिबन्ध ९सेन्सन० पनि समावेश हुनेछन्।
यसअघि अमेरिकी गुप्तचर निकायले पनि विमानस्थलमा फेला परेको विस्फोटक पदार्थ बोकेको ड्रोन रुसी गुप्तचर निकायको भएको मूल्यांकन गरेको थियो। युरोपमा तैनाथ एक अमेरिकी रक्षा अधिकारीलाइ उदृत गर्दै सीएनएनले जनाएको छ।
यो घटनाले जर्मनीमा ठूलो सुरक्षा चिन्ता उत्पन्न गर्नुका साथै युरोपभर सुरक्षा सतर्कता बढाएको थियो। जर्मन अधिकारीहरूका अनुसार अगस्ट ४ को राति पूर्वी जर्मनीस्थित लाइपजिङरहाले विमानस्थलको सुरक्षित क्षेत्रमा ड्रोन फेला परेको थियो। उक्त ड्रोन विमानस्थलको दक्षिणी धावनमार्गनजिक भेटिएको थियो, जहाँ मुख्यतः कार्गो विमान सञ्चालन हुन्छन्।
बम निष्क्रिय पार्ने रोबोट प्रयोग गरेर ड्रोनसँग जोडिएको डेटोनेटर हटाइएको थियो। घटनास्थलका तस्बिरमा उक्त रोबोट युक्रेनी कार्गो विमाननजिक देखिएको थियो। अमेरिकी रक्षा अधिकारीका अनुसार ड्रोनमा सैन्य स्तरका विस्फोटक पदार्थ राखिएको थियो।
त्यसको भोलिपल्ट, अगस्ट ५ मा अर्को उडिरहेको वस्तु विमानस्थलनजिकै एउटा कार्गो विमानसँग ठोक्किएको थियो। त्यसबाट विमानमा सामान्य क्षति पुगे पनि विमान सुरक्षित रूपमा हानोभरमा अवतरण गर्न सफल भएको थियो।
रुसले आरोप अस्वीकार गर्यो
रुसले विमानस्थलमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नता रहेको आरोपलाई ‘बेतुका’ भन्दै अस्वीकार गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार राति जर्मनीले मस्कोलाई दोषी देखाउन प्रमाणहरू आफैंले राखेको आरोप लगाए। तर उनले आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण भने प्रस्तुत नगरेको रोयटर्सले जनाएको छ।
यसअघि जर्मनीका लागि रुसी राजदूत सर्गेई नेचायेभले पनि बर्लिनको आरोपलाई ‘आधारहीन, बेतुक भनेका थिए। उनले जर्मनी–रुस सम्बन्धमा यो अभूतपूर्व तनावको वृद्धि भएको भन्दै रुसले त्यसको जवाफमा आवश्यक कदम चाल्न सक्ने चेतावनी दिएका थिए।
नेटोले जर्मनीको कदमको स्वागत गर्यो
नेटोका महासचिव मार्क रुटेले जर्मनीले घोषणा गरेका नयाँ सुरक्षा कदमको स्वागत गरेका छन्। उनले युक्रेनप्रति नेटोको प्रतिबद्धता ‘अडिग’ रहेको दोहोर्यानउँदै लाइपजिङमा देखिएको जस्तो हानिकारक गतिविधिसहित कुनै पनि खतराबाट आफ्ना सबै सदस्य राष्ट्रलाई रोकथाम र रक्षा गर्ने क्षमता नेटोले निरन्तर बलियो बनाउँदै जाने बताए।
जर्मन सञ्चारमाध्यमहरूले हालै विमानस्थलनजिकै अर्को तेस्रो ड्रोन पनि फेला परेको जनाएका छन्। दुई वटा घटनापछि करिब एक सातापछि विमानस्थलनजिकैको एउटा खेतमा उक्त ड्रोन भेटिएको बताइएको छ। यसले आक्रमणमा एकभन्दा बढी ड्रोन प्रयोग गर्ने योजना रहेको हुन सक्ने आशंका बढाएको छ।
घटनाको अनुसन्धान जर्मनीको संघीय अभियोजन कार्यालयले गरिरहेको छ। तर अनुसन्धान जारी रहेकाले कार्यालयले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको सीएनएनले जनाएको छ।
लाइपजिङ विमानस्थलमा भएको घटनाले रुस र पश्चिमी मुलुकबीच युक्रेन युद्धका कारण बढिरहेको तनावका बीच युरोपेली भूमिमा सम्भावित रुसी हाइब्रिड गतिविधिको विषयलाई थप गम्भीर बनाएको छ।एजेन्सी


