काठमाडौं,१७ भदौँ । भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधबार आयोजित मन्त्रालयको पाँचौँ दैनिक पत्रकार सम्मेलनमा बाढीबाट हालसम्म १ हजार १ सय १४ जनाको शव फेला परेको, करिब ३ हजार ९ सय जना अझै बेपत्ता रहेको र ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको जानकारी दिनु भयो।उद्धार गरिएका मध्ये ३ सयभन्दा बढी विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये पाँच जना सम्पर्कमा आएर सुरक्षित रहेको जनाइएको छ । यस्तै, ३४ देशका करिब ५ सय ९० विदेशी नागरिक अझै बेपत्ता रहेको प्रवक्ता क्षेत्रीले बताउनु भयो । खोजी तथा पहिचानको काम जारी रहेकाले यी तथ्यांक परिवर्तन हुन सक्ने मन्त्रालयले जनाएको छ ।
प्रवक्ता क्षेत्रीले आधिकारिक रूपमा पुष्टि भएका विवरणलाई मात्र आधार बनाउन सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गर्नु भयो । अद्यावधिक सूचना मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल पर्यटन बोर्ड लगायत सम्बन्धित सरकारी निकायमार्फत सार्वजनिक गरिने उहाँले बताउनु् भयो ।बाढीपछि नदीको बहाव क्षेत्र आसपासका विभिन्न सुरुङमा मानिस फसेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित भारतीय, चिनियाँ र दक्षिण कोरियाली उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।लाङटाङ र चिलिमे क्षेत्रमा नेपाली सेना तथा भारतीय उद्धार टोलीले २९ अगस्टमा प्रारम्भिक निरीक्षण गरेको थियो । त्यसको भोलिपल्ट उद्धार टोली लाङटाङतर्फको सुरुङभित्र करिब १५० मिटर प्रवेश गरे पनि मानिस वा शव फेला पार्न सकेन । सुरुङको थप भाग अवरुद्ध रहेकाले खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।
चिलिमेतर्फको अर्को संयुक्त टोलीले सुरुङभित्र करिब २० मिटर प्रवेश गरी खोजी गरे पनि कुनै मानिस वा शव फेला नपरेको जनाइएको छ ।उत्तरी त्रिशूली क्षेत्रमा नेपाली सेना र चिनियाँ उद्धार टोलीले डुंगा प्रयोग गरी सुरुङभित्र करिब २०० मिटर प्रवेश गरेर खोजी गरेको छ । थप उपकरणको सहयोगमा उक्त कार्यलाई निरन्तरता दिइनेछ । सो क्षेत्रमा दक्षिण कोरियाली उद्धार टोलीसमेत परिचालित भएको मन्त्रालयले जनाएको छ ।त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङको अन्त्यतर्फ कम्प्रेसर र रक ब्रेकरसहित तीनवटा एक्साभेटर प्रयोग गरी निकास बनाउने प्रयास गरिएको थियो । तर पानीको उच्च बहावका कारण त्यहाँबाट खोजी गर्न कठिन भएपछि सुरुङको बाहिरी भागबाट वैकल्पिक निकास बनाउने प्रयास भइरहेको छ ।
त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाले आयोजनाको प्राविधिक टोलीको सहयोगमा आयोजना कार्यालय तथा आवासीय क्षेत्र पहिचान गरेको छ । अहिले एक्साभेटर प्रयोग गरी त्यहाँ पुग्ने पहुँचमार्ग पुनःस्थापना गर्ने काम भइरहेको छ ।रसुवागढीस्थित सुरुङमा नेपाली सेना र आयोजनाको प्राविधिक टोली करिब २०० मिटरभित्र प्रवेश गरी खोजी गरे पनि कुनै मानिस वा शव फेला नपरेको मन्त्रालयले जनाएको छ । सुरुङको भित्री भाग पूर्ण रूपमा अवरुद्ध रहेकाले खोजी कार्य जारी छ ।बाढीमा फेला परेका शवको पहिचानका लागि नेपाल प्रहरीले विदेशी विशेषज्ञ टोलीको सहयोगमा डीएनए परीक्षणलाई तीव्रता दिएको छ ।
भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डीएनए नमुना विश्लेषण गरिरहेको छ । चीनबाट पाँच सदस्यीय विशेष फरेन्सिक टोलीसमेत नेपाल आइपुगेको छ ।त्यस्तै, सिङ्गापुरबाट ६ सदस्यीय विपद् पीडित पहिचान टोली नेपाल आइपुगेको छ । डीएनए परीक्षण उपकरणसहित थप १३ सदस्यीय टोली बुधबार नै नेपाल आउने मन्त्रालयले जनाएको छ । उच्च क्षमताका ड्रोन तथा अन्य आवश्यक सामग्रीसहित थप सदस्यहरू बिहीबार टोलीमा सहभागी हुनेछन् ।दक्षिण कोरियाको थप फरेन्सिक टोली पनि आवश्यक उपकरणसहित खोजी तथा पहिचान कार्यमा जोडिएको छ ।
खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन लिडार उपकरण, बेली ब्रिज, शव संरक्षणका लागि फ्रिजर, डीएनए परीक्षण किट, सामान ओसार्ने सवारीसाधन, शव राख्ने झोला, उच्च क्षमताका ड्रोन र जीन सिक्वेन्सरलगायत सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता प्रभावकारी रूपमा परिचालन भइरहेको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय साझेदार तथा मित्रराष्ट्रबाट थप राहत सामग्री र सहयोग प्राप्त हुने क्रम जारी छ ।बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक पर्ने सामग्री तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त र घोषणा भएका सहयोगको विवरण अद्यावधिक गरिएको र सो सूची चाँडै सार्वजनिक गरिने प्रवक्ता क्षेत्रीले बताउनु भयो।
बाढीका कारण चीनको तिब्बततर्फ रोकिएका नेपाली तथा विदेशी नागरिकलाई नेपाल फर्कन चीन सरकारले सहजीकरण गरेको मन्त्रालयले जनाएको छ ।बाढी आएको समयमा कैलाश पर्वततर्फ जाने–आउने क्रममा रहेका अनुमानित ३ हजार मानिसमध्ये करिब २ हजार ५ सय जना, अधिकांश तीर्थयात्री, हिल्सा र तातोपानी नाकाबाट नेपाल फर्किसकेका छन् । बाँकीलाई पनि स्वदेश फर्कन सहजीकरण गरिएको र केही नेपाली ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेको मन्त्रालयले जनाएको छ ।हाल करिब १ हजार ५ सय नेपाली नागरिक केरुङमा रहेको जनाइएको छ । उनीहरूलाई छिटो स्वदेश फर्काउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ ।
केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरलाई उपयुक्त सीमा नाकाबाट नेपालतर्फ ल्याउन मार्ग परिवर्तन गर्न पनि चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।यस्तै, बाढी आएको दिन चीनतर्फको सीमा क्षेत्रमा करिब १ सय नेपाली नागरिक बेपत्ता भएको विवरण प्राप्त भएको छ ।









