झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हाल दुई थान गोप्रो क्यामेरा सञ्चालनमा ल्याएको हो। मुख्य सीमावर्ती नाका काँकडभिट्टामा परिचालित ‘बोर्डर इन्टरएक्सन टिम’ ले ड्युटीका क्रममा यो क्यामेरा प्रयोग गरिरहेको छ। सीमा सुरक्षामा यस प्रविधिको प्रयोग सम्भवतः नेपालमै पहिलो पटक भएको बताइएको छ।
यस प्रविधिले सीमा क्षेत्रमा हुने कुनै पनि घटनाको विश्वसनीय प्रमाण सङ्कलन गर्न, गैरकानुनी गतिविधि निगरानी गर्न र वास्तविक सूचना सङ्कलन गर्न मद्दत पुग्ने विश्वास गणको रहेको छ।सशस्त्र प्रहरी उपरीक्षक एसपी सचिन कर्माचार्य झापा गणपतिको जिम्मेवारीमा आएपछि जिल्लामा सशस्त्र प्रहरीको सक्रियता बढेको छ। स्थानीय बासिन्दाको प्रत्यक्ष सहयोग र समन्वयका कारण पछिल्लो समय सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा समेत उल्लेख्य सफलता मिलेको छ।









