बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व लक्षित खाद्यान्न तथा उपभोग्य वस्तुको आपूर्ति बन्द भएको छ ।

त्यस्तै तराईसँग काठमाडौं जोडने मुख्य राजमार्ग समेत प्रभावित हुँदा काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका जिल्लाहरुमा खाद्यन्न संकट तथा मूल्यबृद्धि हुने संकेतहरु देखिएका छन् ।

धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित छन् ।

बाढीका कारण तातोपानी र रसुवा नाकाबाट नेपाल भित्रिने ठूलो परिमाणको सामान बाटोमै रोकिएको तथा सयौँ मालवाहक गाडी बगाएपछि आगामी दशैँ–तिहारलाई लक्षित गरेर आयात गरिएका सामानको आपूर्तिमा समस्या देखिन थालेको व्यवसायीहरूले बताउनु भएको छ ।

तत्काल वैकल्पिक आपूर्ति मार्गको पर्याप्त व्यवस्था हुन नसके चाडपर्वका बेला बजारमा सामानको अभावसँगै मूल्यवृद्धि हुन सक्ने उनीहरूको भनाइ छ ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीका कारण चाडपर्व लक्षित सामान बोकेका करिब दुई सय गाडी बगेका छन् । ती गाडीमा रहेका सामान नष्ट हुँदा तत्काल बजारमा सामान उपलब्ध गराउन समस्या हुन सक्ने उहाँको भनाइ छ ।

‘नेपाली बजारमा अहिले तत्काल प्रभाव पार्ने चाडपर्व लक्षित सामानहरू नै अहिले बगायो, दुई सय गाडी सामान क्षति भएको छ । त्यसले अब तत्काल सामान उपलब्ध नहुने हो कि भन्ने एउटा चिन्ताको विषय छ,’ उनले भने, ‘अब चाडपर्वमा हामीसित विकल्प छैन। एउटा नजिकको नाका भनेको तातोपानी थियो। अब तातोपानी पनि अनिश्चितकाल बन्द भनेपछि अब हामीसित एउटै विकल्प छ, कोरला भन्दा अर्को विकल्प छैन ।’

व्यवसायीका अनुसार तातोपानी नाका बन्द हुँदा चीनबाट आयात हुने सामानको ठूलो हिस्सा अब कोरला नाकातर्फ मोड्नुपर्ने अवस्था आएको छ । तर कोरला हुँदै सामान ल्याउँदा दूरी र ढुवानी समय बढ्ने भएकाले त्यसले बजारको आपूर्ति व्यवस्थापनमा थप दबाब सिर्जना गर्ने देखिएको छ ।

कार्कीका अनुसार तातोपानीबाट सामान्य अवस्थामा एक दिनमै गाडी आउजाउ गर्न सक्ने भए पनि कोरला हुँदै सामान ल्याउँदा करिब एक सातादेखि १० दिनसम्म लाग्न सक्छ ।

तातोपानी र रसुवा नाकामा भएको क्षतिका कारण ढुवानी लागतसमेत बढ्न थालेको व्यवसायीहरूको भनाइ छ । यसअघि करिब दुई लाखदेखि सवा दुई लाख रुपैयाँसम्ममा हुने ढुवानी अहिले तीनदेखि चार लाख रुपैयाँसम्म पुग्न थालेको कार्कीले बताउनु भयो । जसले गर्दा उपभोग्य सामाग्रीको मूल्य बढ्ने देखिन्छ ।

कार्कीले अहिले नै बजारमा सामान अभावको संकेत देखिन थालेको बताउनु भयो । उहाँका अनुसार कोरला नाकाबाट सामान ल्याउन झण्डै १० दिन लाग्नुका साथै दुवानी साधनको समेत अभाव छ ।

उहाँले भन्नुभयो, ‘त्यो सामान अभाव हुने पनि अलिकति देखिसकेको छ । अब किनभने त्यसैलाई लक्षित गरेर ल्याएको २०० गाडी त अहिले बगाई नै सक्यो। अब बाँकी बसेको सामानहरू भनेको बाटोमा छ । अब यो हिसाबले कोरला नाकाबाट आउन पनि १० दिन जति झण्डैझण्डै आउन लाग्छ । हामीसित पर्याप्त गाडी पनि छैन ।’

उहाँका अनुसार वैकल्पिक रूपमा समुद्री मार्गबाट सामान ल्याउन सकिए पनि त्यसबाट तत्काल चाडपर्वका लागि आवश्यक सामान नेपाल भित्र्याउन सम्भव छैन ।

समुद्री मार्गबाट सामान ल्याउँदा सामान्यतः करिब दुई महिनासम्म लाग्ने भएकाले अहिले आयात गरिने सामान दशैँ–तिहारअघि बजारमा पुग्ने सम्भावना न्यून रहेको उहाँले बताउनु भयो ।

ढुवानी लागत बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्ताले तिर्नुपर्ने मूल्यमा पर्ने देखिन्छ । तर व्यवसायीहरूको मुख्य चिन्ता मूल्यवृद्धिभन्दा पनि चाडपर्वका बेला आवश्यक सामान नै पर्याप्त मात्रामा उपलब्ध नहुन सक्ने रहेको छ ।

कार्कीका अनुसार स्थलमार्गबाट तातोपानी वा रसुवा हुँदै काठमाडौंसम्म सामान आइपुग्न करिब १२ देखि १३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ल्याउँदा ५५ देखि ६५ दिनसम्म लाग्न सक्छ ।

उहाँले भन्नुभयो, ‘अब तातोपानीबाट र रसुवाबाट आउँदाखेरि करिब–करिब १२–१३ दिनमा काठमाडौँमै सामान आइपुग्ने अवस्था छ । अहिले समुद्री मार्गबाट आउँदाखेरि ५५ देखि ६५ दिनसम्म लागेको अवस्था छ भनेपछि अब दुई महिना नै क्रस भो। दुई महिनामा त हाम्रो दशैँ–तिहार सबै नै भेट्छ । त्यो हिसाबले बाइ सी बाट अहिले तत्काल ल्याएर काठमाडौँमा सामान उपलब्ध हुने अवस्था छैन।’

बाढीका कारण व्यापारिक क्षेत्रमा भएको क्षतिको आकारसमेत ठूलो रहेको व्यवसायीहरूको प्रारम्भिक अनुमान छ । करिब दुई सय मालवाहक गाडी बगाउँदा मात्रै करिब दुई अर्ब रुपैयाँभन्दा बढीको सामान क्षति भएको अनुमान कार्कीले गर्नुभएको छ ।

नेपालमा चीनबाट आयात हुने सामानको ठूलो हिस्सा रहेको भन्दै व्यवसायीहरूले तत्काल वैकल्पिक आपूर्ति व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । भारत वैकल्पिक बजार भए पनि चीनबाट आयात हुने केही वस्तु भारतमा समान मूल्य र गुणस्तरमा उपलब्ध हुन नसक्ने उनीहरूको भनाइ छ ।

चीनबाट हुने आयातमा नेपालको निर्भरता अझै उच्च रहेको कार्कीको भनाइ छ । नेपालमै केही वस्तुको उत्पादन सुरु भए पनि त्यसका लागि आवश्यक कच्चा पदार्थसमेत चीनबाट आउने गरेको उहाँले बताउनु भयो ।

व्यवसायीको चिन्ता आयातमा मात्रै सीमित छैन । काठमाडौंको असन बजारमा समेत बाढीपछि सामानको आपूर्ति र मूल्यमा असर देखिन थालेको व्यवसायीहरू बताउँछन् ।

असनस्थित एनबी स्टोरका सञ्चालक नरबहादुर महर्जनले अहिले पसलमा रहेको पुरानो स्टकबाट मात्र व्यापार चलिरहेको बताउनुहुन्छ । नयाँ सामान सहज रूपमा प्राप्त हुन नसकेको र प्राप्त भएपनि मूल्य बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नु भयो, ‘स्टक केही पनि छैन । नयाँ सामानहरु पाए पनि महङ्गी बढेको छ ।’ महर्जनका अनुसार उहाँको पसलमा घिउ, तेल, तिलको लड्डु, ल्वाङ, सुकमेल, जिरा, काजु तथा किसमिसजस्ता खाद्य सामग्रीको कारोबार हुन्छ ।

बाढीपछि सडक अवरुद्ध हुँदा सामानको आपूर्ति प्रभावित भएको र बजारमा चाडपर्वको चहलपहलसमेत घटेको उहाँले बताउनु भयो ।

बजारमा सीमित मात्रामा सामान आइरहेको र ठूला व्यापारीसँग रहेको स्टकबाट मात्रै खुद्रा व्यवसायीले सामान पाइरहेको महर्जनले बताउनु भयो । नगद कारोबारमा समस्या तथा पर्याप्त स्टक राख्ने ठाउँको अभावले पनि साना व्यवसायी थप समस्यामा परेको उहाँको भनाइ छ ।

उहाँले भन्नु भयो, ‘बाटोघाटो अवरुद्ध भएकाले सामान पाइएको छैन् । ठूलठूला व्यापारीले पनि अलिअलि स्टक राखे होलान । नगद कारोबार भएपनि हाम्रो व्यापार हुनुपर्यो तर व्यापार एकदम मन्दी छ । स्टक गरेर राख्ने ठाउँ हामीसँग छैन् । अब जति चाहिन्छ त्यति ल्याएर बेच्ने हो । सामान आउने नआउने थाहा छैन तर वैकल्पिक बाटाहरू संचालनमा आएका छन् । आशावादी छौं ।’

असनकै खाद्यन्न स्टोरका सञ्चालक साहित्यरत्न तुलाधरले पनि अहिले पुरानै स्टकबाट व्यापार भइरहेको बताए । आयातकर्ताबाट सामान आएपछि मात्रै आफूहरूले बिक्री गर्न सक्ने अवस्था रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘पहिले भएकै सामानहरु बेचिरहेका छौं । अरू सामान धेरै आउँदैन, अलिअलि आउँछ । इम्पोर्टर्सहरूले सामान दिएभने मात्रै हामीले बेच्ने हो ।’

बाढीपछि तत्काल बजारमा सीमित स्टक, बढ्दो ढुवानी खर्च र केही वस्तुको मूल्यवृद्धिमा देखिएको छ । तर मुख्य व्यापारिक नाका लामो समय अवरुद्ध रहेमा त्यसको प्रभाव चाडपर्व नजिकिँदै जाँदा अझ गहिरिन सक्ने व्यवसायीहरूको चेतावनी छ ।

विशेषगरी दशैँ–तिहारका लागि पहिल्यै आयात गरिएका सामानको ठूलो हिस्सा बाढीमा क्षति हुनु, बाँकी सामान बाटोमै हुनु र वैकल्पिक नाकाबाट सामान ल्याउन बढी समय लाग्नुले आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ ।

व्यवसायीहरूले नाका र सडकमार्ग तत्काल सञ्चालनमा ल्याउन, वैकल्पिक नाकाबाट सामान ल्याउने प्रक्रिया सहज बनाउन तथा ढुवानीका लागि आवश्यक कन्टेनर र गाडीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

समयमै आपूर्ति व्यवस्थापन हुन नसके चाडपर्वका बेला सामानको मूल्य मात्रै नभई आवश्यक खाद्यान्न तथा उपभोग्य वस्तुकै अभाव हुने जोखिम रहेको उनीहरूको भनाइ छ ।

बाढीले व्यापारिक सामानमा मात्रै नभई सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पारेको छ । तातोपानी र रसुवा नाकाबाट हुने आयातमा निर्भर राजस्व संकलन प्रभावित हुँदा राज्यको आम्दानीमा समेत कमी आउन सक्ने देखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग