काठमाडौँ , भदौ १९।भोटेकोशीको बाढीपछि त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेका २ जनाको जीवितै उद्धार गरिएको छ ।सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन् ।साइटमै रहेका रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ ‘ए’ बाट सञ्जय साह र कबिर महर्जनको उद्धार भएको जानकारी दिएका छन् काठमाडौंका कबिर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट गएका थिए ।
सप्तरीका सञ्जय शाह त्रिशूली ३ ‘ए’ को अपरेसनमा सिफ्ट ड्युटीमा थिए । उनीहरूलाई पहुँच सुरुङको आधाआधीमा भेटिएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । बाहिर निस्कने क्रममा उनीहरु बीचमै अड्किएका थिए । सञ्जय मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए भने कबिर मेकानिकल सुपरभाइजर थिए । यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए ।









