काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्क र विश्वभर फैलिएको संगठित अपराध भएको उल्लेख गर्नुभएको हो।
“प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने नाराका साथ दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखनको प्रवृत्ति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आएको बताउनुभएको छ।
मानव बेचबिखन नियन्त्रणका लागि सरकारले नीतिगत तथा संस्थागत सुधार गर्दै आएको उहाँले जानकारी दिनुभएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल बनाउने गरी संशोधन विधेयक संसदमा दर्ता गरिएको पनि उहाँले बताउनुभएको छ।
प्रधानमन्त्री शाहले मानव बेचबिखनविरुद्ध सरकार, गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको भन्दै सबैलाई अभियानमा साथ दिन आग्रह गर्नुभएको छ।









