काठमाडौँ ,२१ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आइतबार बिहान ७ः४० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार अझै ४ हजार ४४ जना सम्पर्कविहीन छन ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७ हजार ८१२ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । बाढीमा परेका तथा प्रभावित भएका ९ हजार १५१ जनाको उद्धार गरिएको छ ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ३७ जनाको व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवमध्ये जमिनमुनि सुरक्षित रूपमा राखिएका शवसमेत रहेका छन ।प्रहरीको विवरणअनुसार फेला परेका शवमा नेपाली र विदेशी नागरिक दुवै छन् । स्वदेशीतर्फ ५२३ पुरुष, ३२५ महिला तथा पहिचान खुल्न बाँकी वा अन्य वर्गमा रहेका शवसमेत गरी ठूलो संख्यामा शव फेला परेका छन् । विदेशी नागरिकतर्फ पनि पुरुष, महिला र अन्य गरी शव फेला परेको प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा फेला परेका शव तथा मानव अंगको पहिचान गर्ने काम समेत भइरहेको छ । प्रहरीले १ हजार २८७ वटा पहिचान नभएका शव तथा मानव अंगको विवरण राखेको जनाएको छ । त्यस्तै डीएनए परीक्षणका लागि १ हजार २८६ जनाको नमुना संकलन गरिएको छ ।
बाढीपछि ४ हजार ४४ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ । सम्पर्कविहीन हुनेमा नेपाली तथा विदेशी नागरिक छन ।प्रहरीले सम्पर्कविहीनहरूको खोजीका लागि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी राखेको जनाएको छ । बाढीले सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएका कारण कतिपय क्षेत्रमा उद्धार तथा खोजी चुनौतीपूर्ण बनेको छ ।बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म ९ हजार १५१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ६ हजार ३१९ पुरुष र २ हजार ७७८ महिला छन् । ५४ जनाको लिंग विवरण नखुलेको प्रहरीले जनाएको छ ।
उद्धारपछि प्रभावित तथा विस्थापितलाई सुरक्षित स्थानमा राख्ने काम समेत भइरहेको छ । पछिल्लो विवरणअनुसार विभिन्न होल्डिङ सेन्टरमा ३ हजार ५८ जना रहेका छन ।बाढीपछि फेला परेका शवको पहिचानका लागि डीएनए संकलनको काम अघि बढाइएको छ । प्रहरीले मृतकका आफन्तबाट समेत डीएनए नमुना संकलन गरिरहेको जनाएको छ । प्रहरीको विवरणअनुसार मृतकका आफन्तबाट १ हजार १८६ जनाको डीएनए नमुना संकलन गरिएको छ । फेला परेका शवको पहिचान गरी आफन्तलाई बुझाउने प्रक्रिया जारी छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, राहत तथा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले ७ हजार ८१२ जना जनशक्ति परिचालन गरेको छ ।प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यसँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ । हालसम्म ११७ वटा जनचेतनामूलक कार्यक्रम गरिएको र त्यसमा ४२ हजार ३६१ जना सहभागी भएको विवरणमा उल्लेख छ । भोटेकोशी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिममा समेत ठूलो मानवीय क्षति भएको छ । प्रभावित क्षेत्रमा सम्पर्कविहीनको खोजी, शवको व्यवस्थापन तथा पहिचान र विस्थापितको व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ ।









