झापा बिर्तामोड ,२१ भदौ । झापाको बिर्तामोडमा किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशन सुरु भएको छ। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै राई समुदायको भाषा, संस्कृति, पहिचान र सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने आगामी कार्यदिशा तय गर्नेछ।
अधिवेशन उद्घाटनका क्रममा अग्रज पत्रकार दिपिन राई र चिकित्सक डा। सोफिया थुलुङ राई सम्मानित हुनु भएको छ। समुदायको भाषा, संस्कृति र सामाजिक विषयलाई पत्रकारितामार्फत उजागर गरेको योगदान तथा चिकित्सा क्षेत्रमा हासिल गरेको उपलब्धिको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो।
यसैगरी झापाका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा अधिकृत तहमा कार्यरत आठ जना राई समुदायका कर्मचारीलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ।
सम्मानित हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, अर्जुनधारा नगरपालिकाका पशु शाखा प्रमुख पदमलाल राई, कनकाई नगरपालिकाकी योजना शाखा प्रमुख मनिता राई, मेची यातायात व्यवस्था कार्यालयकी लेखा अधिकृत तीर्थमाया राई, कृषि विकास बैंक गौरादह शाखा प्रमुख विकास राई, काँकरभिट्टा भन्सार कार्यालयका प्रमुख महङकल राई, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडका प्रमुख राजबहादुर राई र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख निशान राई हुनुहुन्छ ।
कार्यक्रममा यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईले उभौली र उधौलीजस्ता सांस्कृतिक पर्वलाई निरन्तरता दिँदै समुदायमा सामाजिक एकता, भाइचारा र सद्भाव कायम गर्न संस्थाले भूमिका खेल्दै आएको बताउनु भयो।
यायोक्खाका सचिव गौरीमान राईका अनुसार राष्ट्रिय जनगणना २०७८ अनुसार झापामा राई समुदायको जनसंख्या करिब ६० हजार छ। झापाका १५ वटै स्थानीय तहमा गरी ३७ स्थानमा प्रारम्भिक तथा संयुक्त वडा समिति गठन गरिएको छ।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै राई समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र पहिचान संरक्षण तथा नयाँ पुस्तालाई संस्थासँग जोड्ने आगामी कार्ययोजना तय गर्नेछ।









