झापा,२२ भदौ । लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका एकजना युवक पक्राउ परेका छन् । हिजो आइतबार दिउँसो ४ः१० बजे भद्रपुर –३ स्थित झोलुङ्गे पुल इलाकामा सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी.महेशपुरबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार गोविन्दप्रसाद न्यौपानेको कमाण्डमा खटिएको ७ जनाको चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रुहरूलाई चेकजाँच गर्ने क्रममा विर्तामोड ९ लखीवारी बस्ने १९ वर्षीय जनक माझीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा माझीको साथबाट १६ ग्राम ब्राउन सुगर, नेपाली नगद ७१० तथा १ थान नेपाली नागरिकता प्रमाणपत्र फेला परेको थियो । उनलाई लागूऔषध तथा सामान सहित नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हे .क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिनु भयो।
साथै आज सोमबार बिहान ८ः३० बजे गौरीगंज ५ देबीगन्ज सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. गौरीगंजबाट खटिएको ७ जनाको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ४० हजार मूल्य बराबरको किराना सामान बरामद गरेको छ । ती सामान भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक रसाईलीले बताउनु भयो ।









