काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा सहभागी हुन सरकारका विभिन्न मन्त्रीहरूसहित सांसदहरूको समेत सहभागीता रहेको छ ।कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् ।
सो क्रममा अधिकांश आफन्तहरू भावुक बने । धेरैका आँखाबाट आँशु बगे । केहीबेर नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरको दृश्य भावविह्वल बन्न पुगेको हो ।जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिएको छ ।२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।









