काठमाडौं ,२६ भदौ। आज नेपाली साहित्यका युगप्रवर्तक युवाकवि मोतीराम भट्टको जन्मजयन्ती मनाइँदैछ । नेपाली साहित्यमा शृङ्गार रसका प्रणेता तथा बहुआयामिक प्रतिभाका धनी भट्टको योगदानलाई स्मरण गर्दै आज विभिन्न साहित्यिक कार्यक्रमहरू गरि मनाइन्छ ।राणाकालीन समयमा दरबार हाइस्कुलमा अध्ययन गर्ने अवसर पाएका सीमित गैर–राणा नेपालीहरूमध्ये मोतीराम एक हुनुन्छ । ६ वर्षको सानो उमेरमै परिवारसँगै भारतको बनारस पुग्नु भएको उहाँले त्यहाँ रहँदा उर्दू साहित्यको गहन अध्ययन गर्नु भएको छ। उर्दू भाषामा समेत नाटक लेखनको अनुभव बटुलेका उहाँले आफ्नो छोटो जीवनकालमै नेपाली भाषा–साहित्यको विकास र विस्तारमा अतुलनीय योगदान पुर्याउनु भएको छ ।
नेपाली साहित्यमा प्रथम जीवनीकार, समालोचक तथा गजलका प्रणेता मानिने भट्टमा गहिरो राष्ट्रिय चेतना र नेपालीपनप्रतिको स्वाभिमान झल्कन्थ्यो ।नेपाली साहित्यको इतिहासमा आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्ट एकअर्काका पर्याय मानिनु हुन्छ। एक साथीको विवाह समारोहमा भानुभक्तका फुटकर कविताहरू सुनेपछि प्रभावित हुनु भएको मोतीरामले भानुभक्तका अप्रकाशित कृतिहरूको खोजी र उत्खननमा अथक प्रयास गर्नु भएको थियो ।
भानुभक्तको रामायण तथा अन्य फुटकर रचनाहरू संकलन, सम्पादन र प्रकाशन गरी जनसमक्ष ल्याउने श्रेय मोतीरामलाई नै जान्छ । भानुभक्तको पहिलो जीवनीसमेत मोतीरामले नै तयार पार्नु भएको छ।अल्पायुमै देहावसान भएका मोतीराम भट्टले नेपाली पत्रकारिता, मुद्रण कला छापाखाना र नाट्य क्षेत्रमा पनि जग बसाल्ने काम गर्नु भएको थियो ।









