काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा कर्जाको माग घट्दा अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको हो ।वित्तीय प्रणालीमा अधिक तरलता हुँदा अल्पकालीन ब्याजदर अर्थात् अन्तर बैंक ब्याजदर घट्छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत भन्दा घट्न नदिने नीति लिएको छ । यो दरलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले तरलता खिच्ने र पठाउने गर्दै आएको छ । तथापी पछिल्लो समयमा अधिक तरलता भएर खिच्ने काम मात्रै भएको छ ।केन्द्रीय बैंकले निक्षेप संकलन, ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको अधिक तरलता खिच्दै आएको छ । शुक्रबार पनि बैंकले ७५ अर्ब रुपैयाँ बराबरको २ महिना अवधिको निक्षेप संकलन उपरकण मार्फत तरलता खिच्न लागको हो ।केन्द्रीय बैंकले यसअघि सोमबार पनि ३५ अर्बको निक्षेप संकलन उपकरण जारी गरेको छ । रेमिट्यान्स आप्रबाहमा भएको निरन्तर सुधारले पनि वित्तीय प्रणालीमा तरलता बढेको हो । त्यसका साथै सुस्त अर्थतन्त्रका कारण वित्तीय क्षेत्रमा कर्जाको माग नबढ्दा पनि तरलता बढ्न थप मद्दत पुगेको हो ।
राष्ट्र बैंकका अनुसार बिहीबारसम्म वित्तीय प्रणालीमा करिब ४० अर्ब तरलता रहेको छ ।तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई पुन खिच्नका लागि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् ।निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँड गर्छ ।केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ५.७५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।









