दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै संस्कृतिको रङमा सजिएर स्वागतको मञ्च तताउने तयारीमा।
दमक–६ स्थित ग्लोबल एजुकेसनल एकेडेमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रमको दृश्य यस्तै थियो।कक्षा १२ का विद्यार्थीहरूको आयोजना तथा व्यवस्थापनमा भएको कार्यक्रम,नयाँ विद्यार्थीलाई केवल स्वागत गर्ने अवसर मात्रै बनेन,यो त एकअर्कालाई चिन्ने, आफ्नो संस्कृति चिनाउने र प्रतिभा देखाउने साझा उत्सव बन्यो।विद्यालय परिसरमा फरक–फरक जातीय तथा सांस्कृतिक पहिचान बोकेका पोसाकहरू देखिए।भाषा फरक थियो, गीत फरक थिए, नृत्यका शैली फरक थिए।तर मञ्चमा देखिएको उत्साह एउटै थियो।
कहिले गीत गुञ्जियो,कहिले नृत्यले मञ्च ततायो।विद्यार्थीहरू आफ्ना प्रतिभा प्रस्तुत गर्दै थिए,र दर्शकदीर्घाबाट त्यत्तिकै उत्साहका साथ ताली बजिरहेको थियो। नयाँ शैक्षिक यात्राको पहिलो खुड्किलो चढ्न ग्लोबल एजुकेसनल एकेडेमी रोजेर आएका विद्यार्थीलाई विद्यालयको तर्फबाट स्वागत गर्दै भाइस प्रिन्सिपल कृष्ण गुरागाईले उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।नयाँ कक्षासँगै नयाँ लक्ष्य बोकेर आएका विद्यार्थीका लागि विद्यालयको वातावरण कस्तो हुन्छ?उनीहरूको सपना पूरा गर्न विद्यालयको भूमिका कस्तो हुन्छ?सञ्चालक समिति अध्यक्ष इन्दिरा बस्नेतको विश्वास छ,विद्यालयको सकारात्मक वातावरण र गुणस्तरीय शिक्षाले विद्यार्थीलाई आफ्नो भविष्य निर्माणको बाटोमा अघि बढ्न सहज बनाउनेछ।
कार्यक्रममा सहभागी विद्यार्थीको मुहारमा उत्साह मात्र थिएन,त्यहाँ एउटा सपना पनि देखिन्थ्यो।उच्च शिक्षा हासिल गर्ने सपना।आफ्नो क्षमता चिनाउने सपना।र, भोलिको सफल व्यक्ति बन्ने सपना।त्यही सपनालाई सही दिशातर्फ लैजान विद्यार्थीले आफ्नो क्षमता पहिचान गर्दै त्यसको सदुपयोग गर्नुपर्ने प्रधानाध्यापक गुणराज अधिकारी बताउनुहुन्छ।कार्यक्रमको अर्को आकर्षण थियो,बहुसांस्कृतिक प्रस्तुति।कुनै प्रस्तुतिमा आफ्नै माटोको सुगन्ध थियो,कुनै गीतमा आफ्नै समुदायको आवाज।कसैले नृत्यमार्फत संस्कृति देखाए,कसैले गीतमार्फत प्रतिभा।
विविधताबीचको यही सुन्दर मेलले कार्यक्रमलाई अझ जीवन्त बनायो। प्रमुख अतिथि दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा नगरको शिक्षा समिती प्रमुख कुवेर भट्टराईले उच्च शिक्षा लिन विभिन्न ठाउँबाट ग्लोबल एजुकेसनल एकेडेमी आएका विद्यार्थीलाई स्वागत गर्दै उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।उहाँले दमकका विद्यालयमा भइरहेको सुधारले शैक्षिक क्षेत्रमा योगदान पुगेको उल्लेख गर्दै सबै विद्यालयले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
स्वागतसँगै उपलब्धिको सम्मान पनि भयो।कक्षा ११ को वार्षिक परीक्षामा विशिष्ट श्रेणी हासिल गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरियो।मञ्चमा पुरस्कार थापिरहेका विद्यार्थीका अनुहारमा देखिएको खुसी,सायद उनीहरूको अर्को सफलताको सुरुवात पनि थियो।एकातिर नयाँ विद्यार्थीको आगमन,अर्कोतिर पुराना विद्यार्थीको आत्मीय स्वागत।गीत थियो, नृत्य थियो, संस्कृति थियो।प्रतिभा थियो, सम्मान थियो।र, यी सबैभन्दा माथि थियो एउटा साझा सपना ।आफ्नो भविष्य आफैंले सुन्दर बनाउने सपना।ग्लोबल एजुकेसनल एकेडेमीको यो स्वागत कार्यक्रम,नयाँ विद्यार्थीका लागि विद्यालय प्रवेशको औपचारिक सुरुवात मात्र बनेन,नयाँ सम्बन्ध, नयाँ अनुभव र नयाँ सम्भावनाको पहिलो अध्याय पनि बन्यो।









