काठमाडौं , भदौ २७। प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्की र पूर्वमन्त्री डा. विमला राई पौड्याललगायतको टोलीले रसुवाका बाढी प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्नुभएको छ ।रसुवाको कालिका गाउँपालिका–१ मा पुगेर टोलीले १६६ बाढी प्रभावित परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरण गरेको हो। प्रतिपरिवार एक बोरा चामल, मुसुरो दाल, नुन, तेल, चिनी, चिउरालगायतका सामग्री उपलब्ध गराइएको छ। डब्लुएचएच र आरआरएनलगायतका संस्थाको सहयोग तथा समन्वयमा उक्त राहत सामग्री वितरण गरिएको हो।भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
विपद्बाट ती क्षेत्रहरूमा ७ हजार ५७० भवन क्षतिग्रस्त भएका छन् भने ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ जना नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीपहिरोपछि अझै ५ हजार १३० जना बेपत्ता तथा सम्पर्कविहीन रहेको विवरण छ।राहत वितरणका क्रममा पूर्वराजदूतसमेत रहनुभएका सांसद डा. कार्कीले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप तीव्र बनाउन अन्तर्राष्ट्रिय स्तरमा सहयोगको आह्वानसमेत गर्नुभएको छ। उहाँले उद्धार तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न सुझावसमेत प्रस्तुत गर्नुभएको छ।प्रभावित जिल्लाहरूमा सडक तथा हवाई मार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री ढुवानी गर्ने काम जारी रहे पनि पछिल्लो समय काठमाडौंबाट प्रभावित क्षेत्रमा राहत पठाउने क्रम केही सुस्त देखिएको छ।









