काठमाडौं , भदौ २८। काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्थापनका लागि अहोरात्र खटिने संयन्त्रका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।आइतबार महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा बोल्दै डंगोलले महानगर प्रहरी बल महानगरपालिकाको संगठन र संरचना मात्र नभई काठमाडौंलाई अनुशासित र व्यवस्थित बनाउन नागरिकले भरोसा गरेको संयन्त्र भएको बताउनुभयो । उहाले भन्नुभयो, ‘महानगर प्रहरी बल काठमाडौं महानगरको संगठन र संरचना मात्रै होइन। यो त सुव्यवस्थापनमा दृढताका साथ अगाडि बढ्ने, अहोरात्र खटिने कामको संयन्त्र हो। काठमाडौंलाई अनुशासित र व्यवस्थित बनाउन नागरिकले भरोसा गरेको एउटा संयन्त्र हो।’

महानगर प्रहरी ऐन, नियम र आदेशको पालना गराउने काममा मात्र सीमित नभएको भन्दै उनले मानवीय सेवाका क्षेत्रमा समेत महानगर प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘हाम्रो महानगर प्रहरी केवल ऐन, नियम र आदेशको पालना मात्र गर्नेमा सीमित रहेको छैन। यहाँहरूले मानवतामा आधारित रहेर सहर निर्माण गर्ने, असहायलाई सहायता दिने, सहरी स्वच्छता र सरसफाइमा काम गर्ने, विपद्का समयमा अग्रपंक्तिमा रहेर काम गरेको छ।’महानगर प्रहरीका यस्ता गतिविधिले काठमाडौं महानगरपालिकाको सार्वजनिक छविलाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको डंगोलले बताउनुभयो ।

उहाले महानगरपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायसँग गर्ने सहकार्यलाई आगामी दिनमा थप रणनीतिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो , ‘काठमाडौं महानगरपालिकाले गर्ने सहकार्य नगर प्रहरीसँगसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायहरूसँग गर्ने साझेदारी अब रणनीतिक र परिणाममुखी हुन जरुरी छ। जसमा हामी साझा रूपमा अघि बढौँ भन्ने आग्रह गर्छु।’विकास साझेदार तथा सुरक्षा निकायका आ–आफ्नै अधिकार र सीमा भए पनि उत्कृष्ट सहरी व्यवस्थापनका लागि सेवा भावलाई सीमित गर्न नहुने उहाको भनाइ छ। उहाले भन्नुभयो , ‘विकास साझेदार र सुरक्षा निकायका आफ्नै अधिकार र सीमा छन्। तर हामी चाहन्छौँ, उत्कृष्ट सहरी व्यवस्थापनमा हाम्रो सेवाभावलाई सीमाले छेक्नु हुँदैन।’