समुदाय उत्थानमा योगदान गर्ने १३ जना सम्मानित

ह्यारिसबर्ग, पेन्सिलभेनिया, २८ भदौ। बुद्धखरी फाउन्डेसनले समुदायको सेवा, नेतृत्व विकास तथा सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान पुर्‍याउने १३ जनालाई ‘द कम्युनिटी अपलिफ्ट अवार्ड–२०२६’ प्रदान गरेको छ। फाउन्डेसनले “सम्मानसाथ मानवताको सेवा, नेतृत्वको कदर, परिवर्तनको प्रेरणा र समुदायको उत्थान” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा पेन्सिलभेनिया राज्यकी सिनेटर प्याटी किम, राज्य प्रतिनिधि जस्टिन डगलस, वर्ल्ड अफेयर्स काउन्सिल अफ ह्यारिसबर्गकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. जोयस एम. डेभिस, गभर्नरको एसियाली अमेरिकी मामिलासम्बन्धी सल्लाहकार आयोगका कार्यकारी निर्देशक रजिन एम. कारु, भुटानी समुदाय इन सेन्ट्रल पेन्सिलभेनियाका अध्यक्ष युबराज कोइरालालगायत समुदायका अगुवा, स्वयंसेवक, प्रायोजक र सहभागीको उपस्थिति रहेको थियो।

फाउन्डेसनका संस्थापक अध्यक्ष तथा निर्देशक टीकाराम ढुंगानाले स्वागत मन्तव्य राख्दै बुद्ध खारी फाउन्डेसन सन् २०२२ मेमा स्थापना भएको र समुदायको सशक्तीकरण तथा मानवीय सेवाका लागि सक्रिय रहेको बताए।

“यो पुरस्कार कसैको व्यक्तिगत सफलता मात्र मनाउने कार्यक्रम होइन,” ढुंगानाले भने, “आफ्नो स्वार्थभन्दा माथि उठेर समुदायको भलाइका लागि निरन्तर योगदान गर्ने व्यक्तित्वको पहिचान, सम्मान र प्रेरणाको अभियान हो।”

उनले समाजमा धेरै व्यक्ति यस्ता रहेको उल्लेख गरे, जसले प्रचार वा प्रशंसाको अपेक्षा नगरी समय, श्रम, ज्ञान र स्रोत समुदायका लागि खर्चिरहेका हुन्छन्। “यस्ता व्यक्तिको योगदान सार्वजनिक रूपमा सम्मानित हुँदा उनीहरूप्रति कृतज्ञता व्यक्त हुन्छ र अरूलाई पनि सेवाका लागि अगाडि बढ्ने प्रेरणा मिल्छ,” उनले भने।

ढुंगानाले सम्मानित व्यक्तिहरूले व्यक्तिगत उपलब्धिमै सीमित नभई समुदायको दीर्घकालीन हितका लागि काम गरेको बताए। उनले समुदायमा सेवाको संस्कार, सहकार्य र आपसी विश्वास विस्तार गर्न पुरस्कार कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

पेन्सिलभेनिया राज्यकी सिनेटर प्याटी किमले समुदायमा सकारात्मक प्रभाव पार्ने व्यक्तिको सम्मानले सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने बताइन्।

“मान्यता केवल पुरस्कार हस्तान्तरण गर्ने औपचारिकता होइन,” उनले भनिन्, “यसले समाजका लागि मौन रूपमा काम गर्ने व्यक्तिको प्रयास देखाउँछ, उनीहरूको योगदानलाई जोगाउँछ र अर्को पुस्तालाई नेतृत्व तथा सेवाका लागि प्रेरित गर्छ।”

उनले समुदायको मजबुतीको आधार पारस्परिक सम्मान, सहकार्य र मानिसको क्षमतामा विश्वास रहेको धारणा राखिन्। “जब हामी असल कामलाई पहिचान गर्छौं, तब त्यही कामले अरूलाई पनि सकारात्मक परिवर्तनको बाटोमा डोर्‍याउँछ,” उनले भनिन्।

“समुदायको वास्तविक शक्ति एकअर्काप्रति देखाइने सहयोग, सम्मान र साझेदारीमा हुन्छ,” उनले भनिन्, “यस्ता कार्यक्रममा स्थानीय अगुवा र सेवाभावी व्यक्तिलाई प्रोत्साहन मिल्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो।”

राज्य प्रतिनिधि जस्टिन डगलसले नागरिक सहभागिता र समुदायप्रतिको जिम्मेवारीले समाजलाई सबल बनाउने बताए। “आफ्नो ठाउँ, आफ्ना छिमेकी र समुदायका मानिसप्रति जिम्मेवार बन्नु नै असल नेतृत्वको सुरुआत हो,” उनले भने।

फाउन्डेसनले तीन चरणमा १३ जनालाई सम्मान गरेको हो। सम्मानित हुनेहरूमा राज्य प्रतिनिधि जस्टिन डगलस, इन्स्पायर टू एक्सप्लोर का कार्यक्रम निर्देशक नील एच.भण्डारी, एसियन रिफ्युजीज युनाइटेड (ARU) का सह-कार्यकारी निर्देशक रोबिन गुरुङ, स्वतारा नगरपालिका आयुक्त विनिता पुरी राई, समाज टाईम्सका प्रधान सम्पादक विष्णुहरि घिमिरे, लेखक तथा समाजसेवी कर्ण गुरुङ, आईएसएसए -प्रमाणित व्यक्तिगत प्रशिक्षक तथा अमेरिकी सेनाका वरिष्ठ एनसीओ दिल्लीराम दाहाल,ओएचआरसीमा नेपाली कक्षाका संस्थापक शिक्षा निर्देशक अभि न्यौपाने, ग्लोबल भुटानी हिन्दू संगठनका अध्यक्ष – धार्मिक एवं सामाजिक अभियान्ता कमल धिमाल, टेनेसीमा भुटानी समुदायका अध्यक्ष सुकमान सुब्बा, बामा संस्थापक अध्यक्ष विकास राई, न्यु ह्याम्पशायर राज्य संसद सदस्य सुरज बुढाथोकी र पूर्व भुटानी शरणार्थी रेनोल्ड्सबर्ग, ओहायोबाट पहिलो निर्वाचित अधिकारी भुवन प्याकुरेल रहेका छन्।

सम्मानित व्यक्तिलाई समुदायको हित, सामाजिक सेवा, नेतृत्व, सहयोग र प्रेरणादायी कार्यमार्फत समाजमा सकारात्मक प्रभाव पारेको भन्दै अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।भने सम्मानित ब्यक्तिहरूले आफ्नो सारगर्भित मन्तव्यसहित आफ्नो बारेमा र समाजमा गर्दै आएको कार्य सम्बन्धि छोटो जानकारी राखेका थिए ।

भुटानी समुदाय इन सेन्ट्रल पेन्सिलभेनियाका अध्यक्ष युबराज कोइरालाले समुदायको उन्नतिका लागि संस्थागत सहकार्य अपरिहार्य रहेको बताए। “एक जना व्यक्तिको सेवाले एउटा परिवारलाई सहारा दिन सक्छ, तर संगठित समुदायको सहकार्यले समग्र समाजलाई परिवर्तन गर्न सक्छ,” उनले भने।

गभर्नरको एसियाली अमेरिकी मामिलासम्बन्धी सल्लाहकार आयोगका कार्यकारी निर्देशक रजिन एम. कारुले एसियाली अमेरिकी तथा आप्रवासी समुदायका आवाजलाई मूलधारसँग जोड्न समुदायसेवीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। “आफ्नो अनुभव र क्षमतालाई समाजको हितमा प्रयोग गर्ने व्यक्तिहरू नै समुदायका वास्तविक प्रेरक शक्ति हुन्,” उनले भने।

कार्यक्रममा सहभागीलाई सम्मानित व्यक्तिलाई बधाई दिन, आपसी सम्पर्क विस्तार गर्न तथा सामुदायिक सहकार्यलाई बलियो बनाउन आग्रह गरिएको थियो। समारोहपछि सामूहिक तस्बिर, परिचयात्मक भेटघाट तथा भोजन कार्यक्रम आयोजना गरिएको थियो।

समापन मन्तव्यमा ढुंगानाले सहयोगी, स्वयंसेवक, प्रायोजक, अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै भने, “हामी सबैको सानो–सानो योगदानले पनि ठूलो परिवर्तन सम्भव हुन्छ। समुदायलाई बलियो, करुणामय र एकताबद्ध बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्छ।”

फाउन्डेसनले “सँगै उठौँ” भन्ने सन्देशसहित सामाजिक सेवा, सम्मान र सामुदायिक एकताको अभियानलाई आगामी दिनमा थप विस्तार गर्ने जनाएको छ।कार्यक्रम फाउन्डेसनका स्वयंसेवक तथा लगानी सल्लाहकार प्रतिनिधि धिरेन चौहानले सञ्चालन गरेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ’ : ओली

काठमाडौं ,२८ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गर्नु भएको छ।आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम

मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ आयोजना हुने

मुस्ताङ , भदौ २८। हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनका असर, वातावरण संरक्षण तथा स्थानीय अनुकूलनका उपायबारे छलफल गर्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ आयोजना हुने भएको

सनातन धर्म र धर्मगुरुमाथिको प्रहार रोक्न माग, कानुन व्यवसायीद्वारा कारबाहीको चेतावनी

काठमाडौँ , भदौ २८ । नेपालका धर्मगुरुहरूलाई योजनाबद्ध रूपमा ‘विवादित’ भन्दै दुष्प्रचार गरिनु सर्वथा अनुचित भएको उल्लेख गर्दै सरोकारवालाहरूले सनातन धर्म तथा धर्मगुरुमाथि अनावश्यक विवाद

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं ,२८ भदौ। इन्डोर सुपर लिग सिजन–२ को फाइनल अघिको मैत्रीपूर्ण क्रिकेट म्याचमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम ओनर्समाथि १६ रनको शानदार जित हात पारेको छ

एमसीसीको पहिलो सफलतास् न्यू बुटवलदेखि भारत सीमासम्मको प्रसारण लाइन बन्यो

काठमाडौं , भदौ २८। नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न

समुदाय उत्थानमा योगदान गर्ने १३ जना सम्मानित

ह्यारिसबर्ग, पेन्सिलभेनिया, २८ भदौ। बुद्धखरी फाउन्डेसनले समुदायको सेवा, नेतृत्व विकास तथा सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान पुर्‍याउने १३ जनालाई ‘द कम्युनिटी अपलिफ्ट अवार्ड–२०२६’ प्रदान गरेको छ।