झापा, भदौ २९। झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल, नेपालले ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा इलाकाबाट हिजो आइतबार दिउँसो २ः३० बजे भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको स्पोर्ट सुज, कुर्ता तथा जामा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकडभिट्टाबाट आईडी नं.७२५२ का सशस्त्र प्रहरी नायव निरीक्षक महेन्द्र गुरुङको कमाण्डमा खटिएको ४ जनाको बीआइटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथीराम राईको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमा ६ लाख २० हजार रुपैयाँ बराबरको १७० जोर स्पोर्ट सुज, ३६ हजार ५ सय रुपैयाँ बराबरको ७३ पिस कुर्ता र ४ हजार ४ सय रुपैयाँ बराबरको २२ पिस जामा गरी जम्मा ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको सामान रहेका छन्।
बरामद गरिएका उक्त सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेडक्वाटर झापाका सहायक गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र के.सी.ले जानकारी दिनु भएको छ।सहायक गणपति डीएसपी के.सीले अवैध चोरी निकासी पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालको सक्रियता निरन्तर जारी रहेको बताउनु भयो ।









