काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले उपचार कक्षमा उपचाररत बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘उपचार कक्ष अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ ।’
बिरामीका परिवारका सदस्यलाई समेत निश्चित समय र आवश्यक स्वास्थ्यसम्बन्धी नियम पालना गरेर मात्र भेट्न दिइने गरेको उहाँले बताउनु भयो । तर उहाँले दुई दिनअघि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले संवेदनशिलतालाई नै उदाङ्गो पारिदिएको बताउनु भयो । उहाँले अस्पतालमा उपचाररत, आइसीयूमा उपचार गरिरहेका बिरामीको अन्तर्वार्ता लिनु कति नैतिक र चिकित्सकीय रूपमा उचित हो भन्ने विषयमा गम्भीर प्रश्न उठाउनु भएको छ ।
उद्धारपछि अस्पताल ल्याइएका बिरामीको पहिलो प्राथमिकता स्वास्थ्य अवस्था जाँच गरी आवश्यक उपचार गर्ने भए पनि कतिपय अवस्थामा सञ्चारमाध्यमले तत्कालै प्रश्न–उत्तर सुरु गर्ने प्रवृत्ति देखिएको उहाँले बताउनु भयो । भोटेकोशी बाढीका कारण हाइड्रो पावर आयोजनामा सुरुङमा फसेर दुई घाइतेको उपचाररत अस्पतालमा युट्युवर सुरज सिंह ठकुरीले केही दिनअघि अन्तर्वार्ता लिनु भएको थियो ।









