दमक, २९भदौ । गत भदौ १५ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली फेला पर्यो ।लागूऔषध नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको स्वीप अपरेसन टोलीले लागूऔषध सेवनकर्ताहरु बस्ने गोप्य अखडाहरु खोजतलास गर्ने क्रममा दमक ५ स्थित खरखरे खोलानजिकको पैनीको डिल झ्यासघारीमा कालो प्लाष्टिकको पोको पारेर बेवारिसे अवस्थामा फालेको अवस्थामा गोली फेला पारेको थियो । ओएफबी १३ ५.५६ एम.एम.को लेखेको इन्सास राइफलमा प्रयोग हुने गोलीको ३१ राउण्ड फेला परेको प्रहरीले जनाएको छ । ती गोलीहरु जेनजी आन्दोलनमा इप्रका दमकबाट लुटिएको थियो ।
त्यसअघि भदौ ६ गते मोरङ उर्लाबारी ६ घर भई हाल दमक नगरपालिका वडा नं.–१ रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण जेनजी आन्दोलनमा लुटिएको हतियारसहित पक्राउ परे । एक थान सर्ट गन दमक नगरपालिका वडा नं.४ त्रिवेणी चोकस्थित खयरबारीमा लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा कर्णलाई नियन्त्रणमा लिई उल्लेखित स्थानमा खोजतलास गर्ने क्रममा प्रहरीको मिक कम्बलमा पोका पारी लुकाई राखेको अवस्थामा १२११११४ नम्वरको व्यारल भाच्चिई दुई टुक्रा भएको बेसावुत अवस्थामा सर्ट गन एक थान फेला परेको थियो ।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ । एक वर्ष बितिसक्दा पनि जेनजी आन्दोलनका बेला प्रहरीबाट लुटेर लगेको धेरै हतियार फिर्ता भएको छैन । जसबाट सुरक्षामा चुनौती देखिएको छ ।गत वर्षको भदौ २३ र २४ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ठूला र साना गरी नाल हतियार ५५ थान , म्याग्जिन ८७ थान , गोली ५ हजार ९८२ राउन्ड , रबरको गोली ७४ राउन्ड , ब्लांक ४८ थान र अश्रुग्यासको ८२ सेल लुटिएको थियो ।त्यसमध्ये हालसम्म नाल हतियार ४३ थान, म्याग्जिन ४० थान , गोली १ हजार ७७८ राउन्ड , रबरको गोली ३५ राउन्ड,ब्लांक ३० थान र अश्रुग्यासको ७६ सेल फेला परेको छ ।
हालसम्म इन्सास राइफल २ थान , त्यसको म्याग्जिन १८ , गोली १ हजार ५०७ , एसएलआर राइफल एक थान , त्यसको म्याग्जिन ११ , गोली १ हजार १५ ,३०३ राइफल एम ३– एक थान , त्यसको म्याग्जिन ३ थान ,३०३ राइफल एम ४– एक थान , त्यसको म्याग्जिन २ थान , दुवै राइफलको गोली १ हजार ४७६ राउन्ड , एसएमजी राइफल २ थान , त्यसको म्याग्जिन ११ थान , गोली ६२ राउन्ड , सर्ट गन एक थान ,त्यसको गोली ६ राउन्ड , ग्यास गन २ थान , त्यसको गोली ६ राउन्ड , ठूलो चापे टी ५४ को म्याग्जिन २ थान , गोली ६ राउन्ड , सानो चापे टी ७७ को गोली १० राउन्ड ,३८ बोर रिवल्बर २ थान , गोली ४५ राउन्ड फेला पर्न नसकेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ठूलो र सानो गरी १२ वटा हतियार , ४७ थान म्याग्जिन , गोली ४ हजार २१० , रबरको गोली ३९ र ब्लांक १८ थान गरी कुल ४ हजार २६७ थान हतियार र गोली गायब नै रहेको प्रहरी स्रोतले जनाएको छ ।









